काठमाडौं, १ पुस । यो साता सेयर बजारमा नेप्से परिसूचक पहिलो दिनको तुलनामा ७.२६ अंकले बढेर अन्तिम दिन १५३०.०६ अंकमा पुगेको छ । बजारमा परिसूचक बढेता पनि कारोबार भने अझै बढ्न सकेको छैन । साताभर जम्मा एक अर्ब ९३ करोड ४७ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सातामा चार दिन कारोबार भएको बजारमा १५६ कम्पनीको ३१ लाख २६ हजार चार सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।
कारोबार रकम गत साताको भन्दा ४१ दशमलब १५ प्रतिशत कम हो । गत साता १५४ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २३३२१ कारोबारबाट तीन अर्ब २८ करोड ७६ लाख ६२ हजार रुपैयाँ बराबरका ४२ लाख ९८ हजार दुई सय कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
साताभर सेयर बजारमा उतारचढाव आएको छ । बजारमा उत्पादनमूलक समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ८४ दशमलब २५ अंकले बढेको छ । त्यस्तै, होटल, विकास बैंक, बाणिज्य बैंक र जलविद्युत समूहको परिसूचक क्रमशः २०.७५, ८.६२, ४.७३ र ६.३३ अंकले बढेको छ । वित्त समूह र अन्य समूहको परिसूचक क्रमशः ३.५९ र २.९ प्रतिशतले बढेको छ । उत्पादमूलक समूहको परिसूचक ८ दशमलब ४२ अंकले घटेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.४२ अंकले बढेर ३३१.०० अंकमा आईपुगेको छ । यस साता सबैभन्दा बढी एभरेष्ट बैंकको सेयर कारोबार भएको छ । बैंकको ३० करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यसैगरी एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड १ को दुई लाख १० हजार कित्ता सेयर कारोबार भएको छ ।