काठमाडौं, १ पुस । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको राजधानीमा सम्पन्न २८ औं वार्षिक साधरणसभाले ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।

बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ३२ करोड रुपैयाँ पुग्ने छ । कम्पनीले उक्त चुक्ता पुँजीमा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने पनि जानकारी दिएको छ । हकप्रद सेयर वितरण पश्चात् कम्पनीको चुक्तापुँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्ने छ ।
कम्पनीको हाल चुक्तापुँजी १ अर्ब १ करोड रुपैयाँ रहेको छ । साथै कम्पनीले अधिकृत पुँजी ५ अर्ब रुपैयाँ र जारी पुँजी ३ अर्ब रुपैयाँ पुर्याउने भएको छ ।