१३ नाकाबाट जोडिँदैछ नेपाल–चीन सडक सञ्जाल, चार नाका उच्च प्राथमिकतामा

<p>काठमाडौं, ३० मंसिर । नेपालले उत्तर छिमेकी चीनसँग जोडिने बिभिन्न १३ वटा नाकामा सडक सञ्जाल विस्तार अभियानलाई तिब्रता दिएको छ । सरकारले सडक विभाग चीनसँग जोडिने १३ वटा नाकासम्म आधुनिक सडक सञ्जाल विस्तार अभियानलाई अघि बढाएको हो । सडक विभागका उप महानिर्देशक गोपाल प्रसाद सिग्देलका अनुसार तातोपानी नाका, रसुवागढी नाका, कोरला नाका, हिल्सा नाका, किमाथांका [&hellip;]</p>

nepal_chinaकाठमाडौं, ३० मंसिर । नेपालले उत्तर छिमेकी चीनसँग जोडिने बिभिन्न १३ वटा नाकामा सडक सञ्जाल विस्तार अभियानलाई तिब्रता दिएको छ । सरकारले सडक विभाग चीनसँग जोडिने १३ वटा नाकासम्म आधुनिक सडक सञ्जाल विस्तार अभियानलाई अघि बढाएको हो ।

सडक विभागका उप महानिर्देशक गोपाल प्रसाद सिग्देलका अनुसार तातोपानी नाका, रसुवागढी नाका, कोरला नाका, हिल्सा नाका, किमाथांका नाका, ओलाङचोङगोला नाका, लाप्ची नाका, रोलाभञ्ज्याङ नाका, सिर्दिबास नाका, मरिम्ला नाका, न्याक्चे लाग्ना नाका, उराइपास नाका, टिंकर नाकासम्मको सडक विस्तारलाई तिब्रता दिएको छ । यी १३ सडक मध्ये रसुवागढी, हिल्सा, किमाथांका र कोरला नाका जोड्ने सडक पुर्वाधारलाई उच्च प्राथमिकतामा राखेर निर्माण कार्य अघि बढाइएको छ ।

‘निर्माण कार्य भैरहेका १३ सडक मध्ये ४ वटा नाका जोड्ने सडक उच्च प्राथमिकतामा छन्, रसुवागढीलाई पहिलो, किमाथांकालाई दोश्रो, हिल्सालाई तेश्रो र कोरला नाका जोड्ने सडकलाई चौथो प्राथमिकतामा राखेर काम गरिरहेका छौं’, विभागका उप महानिर्देशक सिग्देलले विकासन्युजसँग भने ।

उनले ती चार सडकमध्ये पनि कोरला नाकालाई व्यवसायीक रुपमा सञ्चालन गर्न सकिने वा नसकिनेबारे चिनियाँ पक्षसँग सम्वाद आवश्यक रहेको बताए ।‘कोरला नाकालाई व्यवसायीक रुपमा सञ्चालन गर्न चिनियाँ पक्षसँग सरकारले आवश्यक छलफल गर्नुपर्छ’, सिग्देलले भने ।

कुन सडकमा कति भयो काम ?

ओलाङचोङगोला नाका
ताप्लेजुङ सदरमुकामबाट ओलाङचोङ गोला हुँदै चीन जोडिने सडकको लम्बाई ९५ किलोमिटरको छ । सो खण्डमध्ये ३५ किलोमिटरका ट्रयाक खोलिसकिएको छ भने ६० किलोमिटरमा धमाधम काम भैरहेको छ ।

किमाथांका नाका
संखुवासभाको सदरमुकाम खाँदबारीबाट १६२ किलोमिटरको दुरीमा किमाथांका नाका पर्र्छ । सो सडक खण्डको ८५ किलोमिटर ट्रयाक खोलिसकिएको छ भने ७७ किलोमिटरमा काम जारी छ ।

लाप्ची नाका
दोलखाको लामाबगरबाट २५ किलोमिटरको दुरीमा लाप्ची नाका छ जसको ५ किलोमिटर ट्रयाक खोलिएको छ भने २० किलोमिरटको काम जारी छ ।

रोइलाभञ्ज्याङ नाका
धादिङको बेनीघाटबाट १६२ किलोमिटरको दुरीमा पर्ने यो नाकाको ५८ किलोमिटरमा काम सम्पन्न भैसकेको छ भने १०४ किलोमिटरमा काम भैरहेको छ ।

सिर्दिबास नाका
गोरखाको गुम्दाबाट चुम्चेट हुँदै १३५ किलोमिटर दुरी पार गरेपछि सिर्दिबास नाका पुगिन्छ । सो सडकको पनि २५ किलोमिटर ट्रयाक खोलिसकिएको छ भने ९० किलोमिटरमा काम भैरहेको छ ।

कोरला नाका
जोमसोमबाट कोरला नाकासम्मको दुरी ११० किलोमिटरको छ । सो सडकमा हाल सिंगल लेनमा सवारी साधन गुडिरहेका छन् । सडक विभागले डबल लेनको ग्राभेल सडकका रुपमा विस्तार गर्न ठेक्का समेत लगाइसकेको छ ।

मरिम्ला नाका
डोल्पाको मरिल्ला नाका पुग्न दुनैबाट १३५ किलोमिटर दुरी पार गर्नुपर्छ । सोमध्ये हालसम्म ९५ किलोमिटरको ट्रयाक खुलिसकेको छ भने ४० किलोमिटरको काम भैरहेको छ ।

न्याक्चे लाग्ना नाका
मुगुकको गमगढीबाट ११० किलोमिटरको दुरीमा न्याक्चे लाग्ना नाका पर्छ । हाल सो सडक खण्डको १५ किलोमिटर ट्रयाक खोलिएको छ भने ९५ किलोमिटरको काम खण्ड खण्डमा जारी छ ।

हिल्सा नाका
हुम्लाको हिल्सा नाका पुग्न सिमिकोटबाट ९५ किलोमिटर दुरी छिचोल्नु पर्छ । त्यसमध्ये ८० किलोमिटरमा ट्रयाक खोलिएको छ भने बाँकी १५ किलोमिटरमा काम जारी छ ।

उराइपास(ताक्लाकोट)
चैनपुरबाट ११५ किलोमिटरको दुरीमा उराइपास पर्छ । सो खण्डमध्ये ३५ किलोमिटरमा ट्रयाक खोलिएको छ भने ८० किलोमिटरमा काम भैरहेको छ ।

टिंकर नाका
दार्चुला सदरमुकामबाट टिंकर नाका पुग्ने दुरी ११२ किलोमिटरको छ । सो खण्डमा ४० किलोमिटरको ट्रयाक खोलिएको छ भने ७२ किलोमिटरमा काम भैरहेको छ ।

तातोपानी नाका
तातोपानी नाका जोड्ने सडक नेपाल तर्फ चालु आवस्थामा रहेको छ । सडक विभागले ठाउँ ठाउँमा स्तरोन्नतिका काम पनि गरिरहेको छ भने केहि स्थानमा चीन सरकारले पनि स्तरोन्नतिको काम गरिरहेको छ । तर चीन सरकारले नै तातोपानी नाका पारीकोे आफ्नो बस्तीलाई ३० किलोमिटर पर नल्याम सारिसकेको छ । यो नाकालाई हाल चीन सरकारले खासै महत्व नदिएको सडक विभागका उप महानिर्देशक सिग्देलले बताए ।

Share News