काठमाडौं, २९ मंसिर । सेलिव्रेटी मन्त्रीको उपमा पाएका स्वास्थमन्त्री गगनकुमार थापाको सम्पत्ति कत्ति होला, तपाईले अनुमान गर्न सक्नु हुन्छ ? सवैको केन्द्रविन्दुमा रहेका स्वास्थ मन्त्री गगन कुमार थापाको सम्पत्ति बुधबार सरकारले सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको सम्पत्ति विवरणमा मन्त्री थापाको नाममा विभिन्न कम्पनीमा ६ लाख ८७ हजार कित्ता सेयर रहेको छ भने एभरेष्ट बैंकमा चार हजार मात्र नगद रुपैया रहेको छ । त्यस्तै उनको घरमा पाँच हजार रुपैयाँ मात्र नगद मौज्दात रहेको छ ।
बाँकी सम्पत्ति भने उनकी पत्नि डा.अन्जना केसी थापासँग रहको देखिन्छ । उनकी श्रीमतिसँग १६ तोला सुन, २०० तोला चादी र केही हिराका गहना रहेको छ । जुन उनकी श्रीमतिले पेवा, दाइजो र स्वआर्जनबाट कमाएकी हुन्, विवरणमा उल्लेख छ ।
त्यस्तै श्रीमतिको नाममा हिमालयन बैंक र नविल बैंकमा गरी २० लाख १७ हजार नगद रहेको छ । त्यस्तै श्रीमतिको नाममा विभिन्न कम्पनीको एक लाख १३ हजार ९ सय कित्ता सेयर छ जुन मन्त्री थापाले श्रीमतिले स्वआर्जन गरेको दावी गरेका छन् ।
उनकी छोरी गार्गी ए थापाको नाममा मेगा बैंकमा एक लाख ३१ हजार नगद र विभिन्न कम्पनीको सेयर ७ हजार एक सय कित्ता रहेको थापाले जनाएको छ । त्यस्तै छोरी गार्गीको नाममा थापाले चार लाख बराबरको नेपाल सरकारको बचत पत्रमा लगानी गरेका छन् ।
मन्त्री थापाले सार्वजनिक गरेको उनको सम्पत्ति विवरणमा उनले अहिले भोगचलन गरेको सम्पत्ति वुवा, आमा, छोरी र पत्नीको नाममा रहेको बताएका छन् । उनको ऋण भने एक रुपैयाँ पनि देखिएको छैन ।
उनको पिता महेन्द्रकुमार थापाले बुद्धिबहादुर थापालाई पाँच वर्षमा फिर्ता गर्ने गरी १५ लाख रुपैयाँ सापटी लिएका छन् भने एक वर्षमा तिर्नेगरी घरखर्चका लागि पाँच लाख रुपैयाँ सापटी लिएका छन् ।