काठमाडौं, २९ मंसिर । अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले नेपालका ट्रेड युनियनहरुको छाता संस्था जेटीयुसीसीसँग अन्तर्राष्ट्रियस्तरमा सहकार्य गरेर अघि बढ्न सक्ने जनाएको छ । आगामि दिनमा नेपाली मजदुर संगठनहरु संयुक्त रुपमा अगाडि बढे अन्तर्राष्ट्रिय स्तरमै सहकार्य गरेर बढ्न सकिने जनाएको हो ।
नेपालका १० वटा ट्रेड युनियन महासंघको छाता संस्था संयुक्त ट्रेड युनियन सम्मेलन केन्द्र (जेटियुसीसी)को श्रम संसद बैठकको उद्घाटन गर्दै आईएलओका महानिर्देशक गाई राईडरले आगामि दिनमा नेपाली मजदुर संगठनहरु संयुक्त रुपमा अगाडि बढे सहकार्य गरेर बढ्न सकिने धारण राखे । राईडरले आईएलओलाई साथीका रुपमा सहकार्य गर्न आग्रह गरे । उनले नेपाली मजदुर संगठनहरु मिलेर संयुक्त रुपमा अगाडि बढ्नु प्रशंसनीय कार्य भएको भन्दै अन्तर्राष्ट्रियस्तरमा अरुले नेपालबाट पाठ सिक्नुपर्ने बताए ।
कार्यक्रममा जेटीयुसीसीका अध्यक्ष खिलानाथ दाहालले सरकारले ल्याएको श्रमिकबिरोधी कानुनको बिरोध गर्दै विबिधतामा एकता भन्ने नारासहित श्रमिकका पक्षमा संधै एकताबद्ध भएर लागिपर्ने बताए ।
यस्तै जेटीयुसीसीका संस्थापक अध्यक्ष विष्णु रिमालले श्रमशक्ति विशेष शक्ति भनेर राज्यले बुझ्नुपर्ने भन्दै राज्यले आईएलओ अभिसन्धी नाघेर गरिएका कार्यहरुका विषयमा आफुहरुले आईएलओमा मुद्धा दायर गर्ने बताए ।
कार्यक्रममा जेटीयुसीसीका आगामि अध्यक्ष शालिकराम जम्कटेलले श्रमिकका सामाजिक सुरक्षाका विषयलाई विशेष महत्वमा राख्नुपर्ने भन्दै राजनीतिक विकाससँगै आर्थिक विकास र रोजगारी सिर्जनालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । अहिले मजदुरका अधिकारका पक्षमा आवाज बुलन्द पार्दै जानुपर्ने र यसमा सबैको साथ रहने उनको भनाई थियो ।
बैठकले आगामि एकवर्षे कार्यकालका लागि शालिकराम जम्कटेललाई जेटीयुसीसीको अध्यक्षमा चयन गरिएको छ । जेटीयुसीसीका अध्यक्ष खिलानाथ दाहालले लोगो हस्तान्तरण गर्दै जम्कटेललाई आगामि कार्यकालको अध्यक्ष घोषणा गरेका हुन् । आगामि जनावरी देखि नवनिर्वाचित अध्यक्ष जम्कटेलले कार्यभार सम्हाल्नेछन् ।