काठमाडौं, २९ मंसिर । बुधबार सेयर बजारमा हरियाली छाएको छ । बजारमा नेप्से परिसूचक ६ दशमलब ६५ अंकले बढेर १५१६ अंकमा अडिएको छ । सो दिन बजारमा निकै उतारचढाव भएको देखिन्छ । बजार खुलेको एक घण्टामा १५०२ अंकमा झरेको बजार बन्द हुँदा बढेर १५१६ अंकमा पुगेको छ । बुधबार बजारमा १३७ कम्पनीको ७५ लाख ३५ हजार कित्ता सेयर ४८ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बुधबार होटल र फाइनान्स समूहबाहेक अन्य समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५९ अंकले उकालो लागेको छ । त्यस्तै, उत्पादनमूलक र बैंकिङ् समूहको परिसूचक क्रमशः १५ र ७ अंकले उकालो लागेका छन् । होटल र फाइनान्स समूहको परिसूचक क्रमशः १३ र ०.६४ अंकले ओरालो लागेका छन् भने बाँकी समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् ।
सो दिन बजारमा सबैभन्दा बढी एभरेष्ट बैंकको सेयर कारोबार भएको छ । ९ करोड बढी रुपैयाँको कारोबार भएको बैंकको प्रतिकित्ता सेयर मूल्य ३ हजार २३० रुपैयाँ रहेको छ ।
बुधबार हिमालयन डिस्टीलेरी कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सो दिन सबैभन्दा बढी अरुण फाइनान्सका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् ।