चितवन, २८ मंसिर । भरतपुरका समाजसेवी विजय सुवेदीले आफ्ना छोराको बिहेको खर्च जोगाएर सामाजिक क्षेत्रमा रु तीन लाख बढी रकम सहयोग गरेका छन् ।
सुवेदीका छोरा विपुल र प्रतीक्षा धितालको विवाहमा लाग्ने खर्च कटौती गरेर उनले भरतपुरस्थित मानव सेवा आश्रम र देवघाटमा विद्युतीय शवदाह निर्माणका लागि सहयोग गरेका हुन् ।
सडकबाट बेवारिसे र मानसिक रोगी उठाएर उपचार र पालनपोषण गर्दै आएको आश्रमका लागि एक लाख एक हजार एक सय २१ रुपैयाँ र देवघाटमा विद्युतीय शवदाह निर्माणका लागि दुई लाख रुपैयाँ उनले सहयोग गरेका हुन् ।
आश्रमका प्रमुख संरक्षक तथा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले देवघाटमा विद्युतीय शवदाह निर्माण गर्न सो सहयोग बीज रकम भएको बताए।
नवविवाहित जोडीका बुबा तथा भरतपुर अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष सुवेदीले व्यवहार परिवर्तन गरेर आफूले सामाजिक हित र समाज रुपान्तरणका लागि सहयोग गर्न पाएकामा खुसी व्यक्त गरेका छन्। आश्रमका अध्यक्ष रामजी अधिकारीले नेपालको सडकलाई बेवारिसे मानवमुक्त बनाउने आफ्नो लक्ष्य पूरा गर्न सहयोग गर्नुभएकामा नवविवाहित जोडीलाई बधाई ज्ञापन गरेका छन्। रासस