काठमाडौं २६, मंसिर । भक्तपुरको बालकोट बस्ने नवीन कार्कीले लगातार तीन दिनसम्म लाइन बस्दा पनि सवारीसाधन चालक अनुमतिपत्रको फाराम भर्न नपाएको दुखेसो पोखे ।
यातायात व्यवस्था कार्यालय एकान्तकुनामा रातिदेखि नै लाइन हुन्छ, बिहान गएर लाइन बस्दा पालो आउनुअघि नै छुट्याइसकेको फाराम सकिन्छ,’ उनले भने । सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को फाराम भर्न चाहने धेरै सेवाग्राहीले अझै यस्तो सास्ती पाइरहेका छन् ।
दैनिक औसतमा ६ सयजनाले मात्र फाराम भर्न पाउने व्यवस्थाले गर्दा सेवाग्राहीलाई सास्ती भएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले भने पहिलेको तुलनामा अहिले फाराम भर्न सहज भइसकेको दाबी गरे ।
‘शुक्रबारसम्म १० हजारजनाले फाराम भरिसके,’ उनले भने । दुई महिनाभन्दा बढी समय रोकिएको सवारीचालक लाइसेन्स फाराम भर्ने प्रक्रिया मंसिर ८ देखि ललितपुरको एकान्तकुनाबाट वितरण भइरहेको छ ।
विभागका प्रवक्ता डा। पाण्डेले अझै ६ देखि १० हजारजना फाराम भर्ने पक्रियामा रहेको बताए । असोज र कात्तिक महिना फाराम भर्ने प्रक्रिया ठप्प हुँदा करिब १६ हजारजना लाइसेन्स लिने प्रक्रियामा सहभागी हुन पाएका थिएनन् । फाराम संकलन सुरु गर्दा रोकिएर रहेका व्यक्ति एकैचोटि आएको र त्यसले भीड देखिएको विभागको भनाइ छ । नयाँ पत्रिका दैनिकबाट ।