काठमाडौं, २२ मंसिर । बर्षेनी रासायनिक मलको अभावमा कृषकले दुःख पाइरहेको अवस्थालाई छिचोल्न नेपाल भित्रै युरिया मल उत्पादनको प्रक्रिया अघि बढेको छ । लगानी बोर्डले महोत्तरीको ढल्केबर, उदयपुरको जलजले र नवलपरासीको बर्दघाटलाई प्राथमिकतामा राखेर रासायनिक मल उद्योग स्थापना गर्ने काम अघि बढाएको हो ।
त्यसका लागि इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कर्पाेरेशन(कर्नाटक) इण्डिया, इन्स्टिच्युट अफ एग्रिकल्चरल टेक्नोलोजीज र साह कन्सल्ट इन्टरनेशलले लगानी बोर्ड मार्फत प्रक्रिया अघि बढाएका छन् । यी कम्पनीले ढल्केबर, जलजले र बर्दघाट तीन वटै क्षेत्रको सम्भाव्यता अध्ययनको रिपोर्ट यहि डिसेम्बरको तेश्रो हप्ताभित्रै बुझाउने गरि काम गरिरहेका छन् ।
लगानी बोर्डले प्रतिदिन २ हजार एक सय १५ मेट्रिकटन र बर्षेनी ७ लाख मेट्रिकटन रासायनिक मल उत्पादन गर्ने लक्ष्य लिएको छ । यो उत्पादनले नेपालको आन्तरिक माग पुरा गर्दै निर्यातको सम्भावना समेत राख्छ । सम्भाव्यता अध्ययन सम्पन्न गरेपछि ढल्केबरलाई उच्च प्राथमिकतामा राखेर मल उद्योग स्थापनाको काम अघि बढाउने लगानी बोर्डले बताएको छ ।
ढल्केबर मजफरपुर प्रसारण लाइनका कारण विद्युतको सहज आपुर्ति, जग्गा अधिग्रहणको सहजता र पर्याप्त पानीको आपुर्तिका कारण लगानी बोर्डले ढल्केबरलाई उच्च प्राथमिकतामा राखेर अध्ययन अघि बढाएको सह प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।
यसरी तयार हुने रासायनिक मल उद्योगका लागि ३१४ अर्ब ४६ करोड रुपैंयाँ आवश्यक पर्नेछ ।