अलैँचीको भाउ नपाएपछि गोरखाका किसान चिन्तित, किन्ने व्यापारी नआएको गुनासो

<p>गोरखा, २० मंसिर । अलैँची उत्पादन हुने जिल्लाको रुपमा पहिचान बनाएको गोरखामा यस वर्ष अलैँचीको भाउ नपाएपछि किसान चिन्तित भएका छन् । गतवर्ष किसानका घरघरै आएर व्यापारीले अलैँची किन्ने गरेकामा यसवर्ष अलैँची तयार भइसके पनि व्यापारी नआएपछि किसान चिन्तित बनेका हुन् । जिल्लाको हंशपुर, खरिबोट, थालाजुङ, मुच्चोक, केराबारीलगायत गाविस अलैँचीको पकेट क्षेत्र मानिए पनि उत्पादन भएको [&hellip;]</p>

allaicheeगोरखा, २० मंसिर । अलैँची उत्पादन हुने जिल्लाको रुपमा पहिचान बनाएको गोरखामा यस वर्ष अलैँचीको भाउ नपाएपछि किसान चिन्तित भएका छन् । गतवर्ष किसानका घरघरै आएर व्यापारीले अलैँची किन्ने गरेकामा यसवर्ष अलैँची तयार भइसके पनि व्यापारी नआएपछि किसान चिन्तित बनेका हुन् ।

जिल्लाको हंशपुर, खरिबोट, थालाजुङ, मुच्चोक, केराबारीलगायत गाविस अलैँचीको पकेट क्षेत्र मानिए पनि उत्पादन भएको अलैँची बिक्री नभएको हंशपुर–४ का विष्णुहरि अधिकारी बताउछन्। उनी भन्छन् – “गतवर्ष विभिन्न क्षेत्रबाट व्यापारी आएर अलैँची लिएर जान्थे अहिले कोही आएका छैनन् ।”

गतवर्ष पूर्वी नेपालको झापा, इलामलगायतका क्षेत्रबाट आउने व्यापारीले स्थानीय व्यापारीसँग मिलेर अलैँची खरिद गर्दै आएका उनले बताए ।

भूकम्पले जमिनको माटो हल्लाएको र चिस्यान हराउँदै गएकाले गत वर्षको तुलनामा यस वर्ष अलैँचीको उत्पादन घटेको सम्बद्ध किसान बताउँछन् । अलैँची उत्पादन बढदै गएको र प्रतिकेजी मूल्य बर्सेनि बढेपछि किसानले धान फल्ने खेत मासेर अलैँची खेती विस्तार गरेका थिए ।

गतवर्ष असोज, कात्तिकमै व्यापार हुने गरे पनि थोरै अलैँची फलेको यसवर्ष भने मङ्सिर तेस्रो हप्ता बितिसक्दा पनि अलैँचीको बिक्री हुन नसकेको किसान अङ्गराम दवाडीले बताए । उनले भने – “बोरामा अलैँची थुपारेका छौँ, अझै बिक्री भएको छैन ।”

गतवर्ष अलैँची प्रतिकिलो दुई हजार २५० रुपैयाँमा बिक्री भएकामा अहिले व्यापारीले प्रतिकिलो जम्मा एक हजार ५०० मात्र दिएपछि अलैँची बिक्री नगरेको अर्का किसान सीता अधिकारीले जानकारी दिए ।

हंशपुर–९ का किसान किरण प्रधानले यसवर्ष अलैँचीको उत्पादनमा कमी आएको जानकारी दिए । उनले भने – “गतवर्ष एक क्विन्टल अलैँची बिक्री गरेको थिएँ, यसवर्ष २५ केजी मात्र उत्पादन भएको छ ।” किसानले गतवर्ष अलैँची बिक्री गरी रु छ करोड गाउँमा भित्र्याएका थिए । गोरखामा उत्पादन हुने अलैँची रामशाही जातको हो ।

उत्पादन भएको अलैँची बिक्री गर्न जिल्ला कृषि विकास कार्यालयले कुनै पहल नगरेको किसानहरुको गुनासो छ ।

कार्यालय प्रमुख यमकुमार श्रेष्ठले गत वर्ष अलैँची बिक्री वितरणमा कुनै पनि समस्या नरहेको हुँदा यसवर्ष पनि ढिलोचाँडो बिक्री हुने दाबी गरेका छन्। उनले अलैँची बिक्रीका लागि कार्यालयले किसान र व्यापारीबीच सम्बन्ध गर्ने काममा लागेको स्पष्ट पारे ।

श्रेष्ठले केही वर्षदेखि जिल्ला कृषि कार्यालयले अलैँचीको बेर्ना अनुदानमा उपलब्ध गराइरहेको बताए । उनले भूकम्पपछि पानीका मुहान सुकेको, चिस्यान हराएको र ढुसीजस्ता रोगको सङ्क्रमणले अलैँचीको उत्पादन घटेको बताएका छन् । रासस

Share News