काठमाडौं, १९ मंसिर । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटद्धारा बीमा कम्पनीहरुको नियमक निकाय बीमा समितिको लागि टिम विल्डिङ एण्ड मोटिभेसन’ विषयक डेढ दिने तालीम कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम मंसीर १७ र १८ गते आयोजना भएको थियो ।
बीमा क्षेत्रको लागि यस ईन्ष्टिच्युटले पहिलो पटक आयोजना गरेको कार्यक्रमको उद्घाटन सत्रमा बीमा समितिका अध्यक्षप्रा.डा.फत्तबहादुर के.सी. लगायत अन्य सञ्चालकहरुको पनि उपस्थिति रहेको थियो । तालीम कार्यक्रममा बीमा समितिमा विभिन्न तहमा कार्यरत २१ जना कर्मचारीहरुको सहभागिता रहको थियो ।
कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सन्जिव सुब्बाले शैक्षिक योग्यता र लामो अनुभव भन्दा पनि अनुशासन र ईमानदारिता जस्ता मूल्य मान्यताका कुराहरु एकदम महत्वपूर्ण रहने बताएका छन् । उनले कुनै पनि संस्थाको राम्रो प्रतिफल तथा उपलव्धिको लागि मानव संशाधनको विकास गर्नु अपरिहार्य रहेको जानकारी गराएका छन् ।
कार्यक्रममा बीमा समितिका अध्यक्ष प्रा.डा.फत्तबहादुर के.सी.ले यस प्रकारको तालीम कार्यक्रमले संस्थाको मानव संशाधन विकासमा उल्लेख्य भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
आगामी दिनमा नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लि. र बीमा समितिले संयुक्त रुपमा बीमा कम्पनीहरुका लागि तालीम कार्यक्रमहरु तर्जुमा गरी सञ्चालन गर्ने कार्य अगाडी बढ्ने विश्वास यस ईन्ष्टिच्युटले लिएको छ ।