काठमाडौं, १७ मंसिर । १३ वटा बाणिज्य बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा प्रति सेयर आम्दानी बढाउन सफल भएका छन् । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा कारोबार भैरहेका २६ बाणिज्य बैंकमध्ये ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, सनराइज बैंक, हिमालयन बैंक, एनएमबी बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, जनता बैंक, लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र कृषि विकास बैंकले आफ्नो प्रति सेयर आम्दानी वृद्धि गरेका हुन् ।
यीमध्ये एभरेष्ट बैंकको प्रति सेयर आम्दानी सबै भन्दा बढि अर्थात ७७ रुपैंयाँ १३ पैसा रहेको छ । गत आवको पहिलो त्रैमासिकमा यो बैंकको प्रति सेयर आम्दानी ७२ रुपैंयाँ ११ पैसा थियो । कुमारी बैंकले प्रति सेयर आम्दानी सबै भन्दा बढि मात्रामा बढाएको छ । गत आवको पहिलो तीन महिनामा १५ रुपैंयाँ १६ पैसा रहेको यो बैंकको प्रति सेयर आम्दानी चालु आवको सोही अवधीमा शतप्रतिशत भन्दा बढि वृद्धि भएर ३१ रुपैंयाँ ४९ पैसा पुगेको छ ।
त्यस बाहेक कृषि विकास बैंकले २२ रुपैंयाँ ४४ पैसाबाट बढाएर ३६ रुपैंयाँ ९१ पैसा पुर्याएको छ भने लक्ष्मी बैंकले १३ रुपैंयाँ ३० पैसाबाट १७ रुपैंयाँ ८८ पैसा पुर्याएको छ । सिटिजन्स बैंकको प्रति सेयर आम्दानी १८ रुपैंयाँ ६३ पैसाबाट बढेर २४ रुपैंयाँ ९३ पैसा पुगेको छ । त्यस्तै, एनसीसी बैंकले १८ रुपैंयाँ ९६ पैसाबाट वृद्धि गरेर २१ रुपैंयाँ ६९ पैसा पुर्याएको छ । नेपाल बंगलादेश बैंकले पनि १६ रुपैंयाँबाट बढाएर आफ्नो प्रतिसेयर आम्दानी २२ रुपैंयाँ पुर्याउन सफल भएको छ ।
गत आवको पहिलो त्रैमासिकमा २३ रुपैंयाँ ३८ पैसा प्रतिसेयर आम्दानी गरेको एनएमबी बैंकले चालु आवको सोही अवधी त्यसलाई बढाएर ३१ रुपैंयाँ ४६ पैसा बनाएको छ । ३८ रुपैंयाँ ७४ पैसा प्रतिसेयर आम्दानीलाई बढाएर हिमालयन बैंकले अहिले ३८ रुपैंयाँ ९८ पैसा बनाएको छ । सनराइज बैंकले पनि १५ रुपैंयाँ ७६ पैसालाई वृद्धि गरेर १९ रुपैंयाँ १० पैसा बनाउन सफल भएको छ ।
ग्लोबल आइएमई बैंकले २० रुपैंयाँ ३४ पैसालाई २३ रुपैंयाँ ५५ पैसा बनाएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकले २६ रुपैंयाँ ७२ पैसालाई बढाएर ३५ रुपैंयाँ ३८ पैसा पुर्याएको छ ।
नबिल, स्ट्याण्डर्ड चाटर्ड र सानिमा लागे ओरालो
पहिलो त्रैमासिकको वित्तिय विवरण अनुसार नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक लगायतका ८ वटा बैंकको प्रति सेयर आम्दानी घटेको छ । गत आवको पहिलो त्रैमासिकमा ७० रुपैंयाँ १२ पैसा प्रति सेयर आम्दानी रहेको नबिल बैंक चालु आवको सोही अवधीमा ५१ रुपैंयाँ १६ पैसामा झरेको छ भने ६१ रुपैंयाँ ४३ पैसाबाट घटेर स्ट्याण्डर्ड चाटर्ड बैंक ४९ रुपैंयाँ ७० पैसामा सिमित भएको छ ।
सानिमा बैंकको प्रति सेयर आम्दानी पनि २२ रुपैंयाँ ३८ बाट घटेर २० रुपैंयाँ १९ पैसामा झरेको छ । २४ रुपैंयाँ ९४ पैसाबाट घटेर माछापुछ्रे बैंक २२ रुपैंयाँ १७ पैसामा झरेको छ । गत आवको पहिलो तीन महिनामा २३ रुपैंयाँ ३८ पैसा प्रतिसेयर आम्दानी कायम गरेको एनआइसी एसिया बैंक पनि यसपाली घटेर १७ रुपैंयाँ ९ पैसामा आइपुगेको छ । त्यस्तै, २८ रुपैंयाँ १० पैसामा रहेको प्राइम कमर्सियल बैंक पनि यसपाली २७ रुपैंयाँ १० पैसामा आइपुगेको छ । १४ रुपैंयाँ प्रतिसेयर आम्दानी गरेको सेञ्चुरी कमर्सियल बैंक यसपाली घटेर १० रुपैंयाँ ४६ पैसामा सिमित भएको छ । ८ रुपैंयाँ एक पैसा प्रतिसेयर आम्दानी गरेको सिभिल बैंक चालु आवको पहिलो त्रैमासिकमा भने एक रुपैंयाँ ८५ पैसामा खुम्चिएको छ ।