काठमाडौं, १७ मंसिर । माथिल्लो तामाकोशीको जलविद्युत आयोजना निर्माण लागत करिव १० अर्बले वृद्धि हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताएका छन् । भूकम्पले परियोजनामा पुर्याएको क्षति, अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धि र निर्वाण अवधि २ वर्ष लम्बिदा कम्पनीको लागत करिव २८ प्रतिशतले वृद्धि हुन लागेको उनले बताएका छन् ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण थाल्दा यस आयोजनाको लागत ३५ अर्ब रुपैयाँ अनुमान गरिएको थियो । आयोजना निर्माण सम्पन्न २०७३ असार मसान्तसम्म गर्ने लक्ष्य थियो । तर अहिले यसको लागत अनुमान ४५ अर्ब गरिएको र निर्माण सम्पन्न गर्न २०७५ असासम्म लाग्ने श्रेष्ठले बताएका छन् ।
प्रति मेगावाट विजुली उत्पादन लागतको आधारमा सबैभन्दा सस्तो परियोजना भनिएको माथिल्लो तामाकोशीको प्रतिमेगावाट लागत ७ करोड ६७ लाख रुपैयाँ अनुमान गरिएको थियो । अहिले बढेर यस्तो लागत प्रतिमेगावाट ९ करोड ८६ लाख पुग्ने अनुमान गरिएको छ । यो आयोजनाको अधिकतम क्षमता ४५६ मेगावाट हुने बताईएको छ ।
‘२०७२ बैशाखमा गएको भूकम्पले आयोजना प्रभावित हुँदा निर्माण सम्पन्न गर्न दुई वर्ष ढिला हुने भयो । २०७५ असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौं’ श्रेष्ठले भन्छन्–‘भूकम्पको कारण करिव ६ अर्ब लागत बढेर ४१ अर्ब पुग्ने अनुमान गरिएका थियौ, डलरको भाउँ बढ्नाले यसको लागत ४५ अर्ब रुपैयाँ पुग्ने भयो ।’
अहिलेसम्म काम गरेको आधारमा ऋण लगानीकर्तासँग थप ऋण लिने र अपुग रकम सेयर निश्काशन गरेर जुटाउको कम्पनीको तयारी रहेको कारोबार दैनिकमा छापिएको श्रेष्ठसँगको अन्तरवार्तामा उल्लेख छ ।