काठमाडौं, १६ मंसिर । देशभरका विभिन्न सहकारी संघ संस्थाका कार्यकारी प्रमुख तथा व्यवस्थापकहरुका लागि राष्ट्रिय सहकारी बैंक लिमिटेडले आयोजना गरेको २ दिने राष्ट्रिय सहकारी गोष्ठी २०७३ बिहीवारदेखि काठमाडौंमा शुरु भएको छ ।
सहकारी बैंकको अवस्था, सेवा सुविधा लगायत सहकारी क्षेत्रलाई सशक्तिकरण, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, अनुगमन प्रणाली, संस्थाको छवि निर्माणमा व्यवस्थापकको भूमिका, सहकारी अनुगमन प्र्रणाली, सहकारी भिजन २०–२० लगायतका विषयमा छलफल गरी थप प्रभावकारी बनाउने उदेश्यका साथ गोष्ठी आयोजना गरिएको बैंकले जनाएको छ ।
सहकारी बैंकका सदस्य संघ संस्थाका प्रतिनिधि र सहकारी बैंक बीचको भूमिका विस्तार एवं बैंकको सेवा सुविधाका बारेमा सुझाव संकलन गरिने जनाइएको छ । गोष्ठीको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, लघुवित्त विभागका प्रमुख उपेन्द्र पौडेलले सहकारी क्षेत्रले वित्तीय साक्षरता अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
सहकारी क्षेत्रले जनतामा वित्तीय साक्षरतासंगै ग्रामिण क्षेत्रमा रहेका विपन्न वर्गका जनताको आयआर्जन वृद्धिमा प्रभावकारी बन्दै गएको पौडेलको भनाइ थियो । उनले सहकारीको भूमिका थप बढाउनका लागि उदेश्य अनुरुप कर्जा परिचालन, उत्पादनशिल क्षेत्रलाई प्राथमिकता, संस्थागत सुशासन, आन्तरिक अनुगमन प्रणालीमा सुधार र दक्ष कर्मचारीको व्यवस्थापन आवश्यक रहेको बताएका छन् ।
बैंकका अध्यक्ष रमेश पोखरेलले सहकारी क्षेत्रको वित्तीय लगायत संस्थागत विकासमा बैंकको भूमिका थप विस्तार र व्यवस्थित गर्नका लागि गोष्ठी सहयोगी हुने बताए ।