काठमाडौं, १५ मंसिर । नेपाल धितोपत्र बोर्डले कुल सेयरमध्ये ३३ प्रतिशत सेयर मात्र अभौतिकृत (डिम्याट) भएको भन्ने समाचार खण्डन गर्दै कारोबार योग्य सेयरको ९० प्रतिशत डिम्याट भईसकेको जनाएको छ । बोर्डले बुधबार प्रेस विज्ञप्ती प्रकाशित गर्दै भएको छ ‘आर्थिक वर्ष २०७२/७३ को अन्त्यसम्ममा साधारण सेयरको अभौतिकीकरणको अवस्था ८३ प्रतिशत रहेको थियो । हालसम्म करिव ९० प्रतिशत साधारण सेयर अभौतिकृत भइसकेको देखिन्छ ।’
नियमित रुपमा कारोवार हुने साधारण सेयरको अभौतिकीकरणको अवस्था उत्साहजनक रहेको र यो क्रम बढ्दै गइरहेको बोर्डले जनाएको छ । बजार सुधार तथा विस्तार गर्न अग्रसर रहदै आएको बोर्डले बजारको हरेक गतिविधिहरुलाई नजिकबाट नियालिरहेको सन्दर्भमा दोश्रो बजारको पूर्ण स्वचालित कारोवार संचालन पश्चात् धितोपत्रको अभौतिकीकरणको अवस्था, त्यसको प्रभाव र त्यसमा सुधार ल्याउनबोर्ड संवेदनशील रहेको बोर्डले जनाएको छ ।
बोर्डको अनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत कुल सेयरमध्ये दुई तिहाई (करिब ६५ प्रतिशत) संस्थापक सेयर रहेको छ भने सार्वजनिक रुपमा निष्काश नभएको साधारण सेयरको संख्या एक तिहाई (करिब ३५ प्रतिशत) मात्र रहेको छ । बोर्डले ६५ प्रतिशत संस्थापक सेयर डिम्याट नहुनुको कारण पनि प्रष्ट पारेको छ ।
संस्थापक सेयरलाई दोस्रो बजारमा कारोबार गर्नको लागि धेरै प्रतिबन्धहरु रहेकोले यो सेयर गैर-कारोबारीय सेयरको रुपमा लिइन्छ जबकि साधारण सेयरलाई कारोबारीय सेयर भनिन्छ । हालसम्मको प्रावधानअनुसार बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर ५ वर्षसम्म बिक्री गर्न नपाउने र त्यसपछि पनि बिक्री गर्दा संस्थापक समूहमा नै रहने गरी बिक्री गर्नु पर्ने बाध्यात्मक अवस्था छ ।
त्यस्तै जलविद्युत् कम्पनीहरुको संस्थापक सेयर ३ वर्षसम्म बिक्री गर्न नपाउने तथा कर्मचारी र उद्योग प्रभावित क्षेत्रका वासिन्दाले प्राप्त गरेको सेयरमा ३ वर्षसम्म कारोबार गर्न नपाउने प्रतिबन्धित समय राखिएकोले ती सेयरहरु सो अवधि पश्चात् मात्र कारोवारमा आउनसक्छन् । साथै संस्थापकहरुको सेयर लगानी दीर्घकालीन प्रकृतिको हुने भएको र यस सेयरको कारोबार प्रतिबन्धात्मक अवस्थामा मात्र हुने गर्दछ । यसले गर्दा कारोबार गर्ने समयमा मात्र संस्थापक सेयरको अभौतिकीकरण गर्ने प्रवृतिले यो सेयरको अभौतिकीकरण अनुपात न्यून रहन गएको हो ।
विश्वका सबैजसो विकसित पुँजीबजारमा रहेको प्रचलनलाई आधार मानी बजारको यथार्थ मापन हुने गरी कारोबार योग्य सेयरको आधारमा २०६४ सालबाट नेप्से फ्लोट इन्डेक्स पनि गणना गर्न थालिएको हो। २०७३असारमा नेप्से फ्लोट इन्डेक्स ८३ प्रतिशतले वृद्धि आई १२५ बिन्दुमा उक्लेको छ, जुन २०७२ असारमा ६९ बिन्दुमा रहेको थियो । सोही इन्डेक्स २०७१ असारमा ७३ बिन्दुमा रहेको थियो ।
२०७२ पौषसम्म धितोपत्र बजारमा दुबै भौतिक तथा अभौतिक सेयरको कारोवार भइरहेकोमा धितोपत्रको दोश्रो बजारलाई पूर्ण स्वचालित बनाउने उद्देश्यले बोर्डले नेप्से र सिडिएसलाई २०७२ माघदेखि पूर्ण स्वचालित कारोवार संचालन गर्न निर्देशन दिएकोमा उक्त संस्थाहरुमा भएको रेकर्ड अनुसार २०७२ पौष मसान्तमा साधारण सेयरको अभौतिकीकरणको अवस्था करिव ३० प्रतिशत मात्र रहेकोमा २०७२ माघदेखि अभौतिकृत सेयरको मात्र कारोवार शुरु भएको थियो ।