
निर्माणाधिन अपर तामाकोशी जलविद्युत आयोजना
काठमाडौं, १४ मंसिर । ४५६ मेगावाट क्षमताको अपर तामाकोशी जलविद्युत आयोजनाको एक अर्ब ५ करोड ९० लाख रुपैंयाँ मुल्य बराबरको सेयर निष्काशन अझै अघि बढ्न सकेको छैन् । आयोजनाले २०६३ सालमा दोलखा बासीलाई सो मात्रामा सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । सेयर निष्काशनको तयारी भैरहेका बेला गत बर्ष भूकम्प गएपछि सो प्रक्रिया रोकिएको थियो । त्यस लगत्तै आएको धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ ले अपर तामाकोशीको सेयर निष्काशनलाई थप जटिल बनाइदिएको आरोप लागिरहेको छ ।
पुरानो निर्णयले सम्पुर्ण दोलखाबासीलाई प्रभावित क्षेत्रभित्र समेट्दै बराबर सेयर निष्काशन गर्ने उल्लेख गरेको थियो । तर धितोपत्र दर्ता तथा निष्काशन नियमावलीले आयोजनाको वातावरणिय प्रभाव मुल्यांकनमा परेका बासिन्दालाई बिशेष प्राथमिकता दिन भनेको छ । यतिबेला सबै दोलखालीलाई बराबर सेयर दिने वा वातारणीय प्रभाव मुल्यांकन रिपोर्टले समेटेका स्थानियलाई बढि प्राथमिकता दिने भन्ने बिषय टुंगो लाग्न नसक्दा सेयर निष्काशन नै अलमलमा परिरहेको छ । ‘सबै दोलखालीले अपर तामाकोशीको सेयर पाउँछन तर कसले कति पाउँने भन्ने एकिन हुन भने बाँकी नै छ, हामी विस्तृत छलफल गरिरहेका छौं’, अपर ताकोशी जलविद्युत आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले विकासन्युजसँग भने ।

हालसम्म आयोजनाको ८१ दशमलब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । विसं २०६८ बाट निर्माण सुरु भएको आयोजना २०७४ साल असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको थियो । तर २०७२ सालको भूकम्पले असर गरेपछि निर्माण प्रभावित बनेको थियो । आयोजनाले हालसम्म ३१ अर्ब ८४ करोड खर्च गरिसकेको छ । कुल ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा भूकम्पले क्षति पुर्याएपछि ४१ अर्ब ७२ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
यस अघि नै आयोजनाले २०७२ जेठ २९ गते कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताहरुको लागि १,८२,९९,५२० कित्ता, कम्पनी लाई ऋण प्रदान गर्ने सँस्थाका कर्मचारीहरुका लागि ३०,४९,९२० कित्ता र कम्पनी तथा विद्युत प्राधिकरणका कर्मचारीहरुका लागि ४०,६६,५६० कित्ता शेयर बाँडफाँड गरिसकेको छ ।