काठमाडौं, १० मंसिर । नेपालको सबैभन्दा पुरानो पाँचतारे होटल सोल्टीले स्थापनाको ५० वर्ष पार गरेको छ । सफलतापूर्वक ५० वर्ष पार गरेको विषमा होटलले शुक्रबार एक कार्यक्रमको आयोजना गरेरै आफ्ना सफलताका वर्षको चर्चा गरेको छ । यो होटल १९६६ नोभेम्बर २५ मा स्थापना भएको र सन् २०१६ को नोभेम्बरबाट ५१ वर्षमा लागेको पनि होटलले जानकारी दिएको छ ।
नेपालमा पायनियर होटलको रुपमा सेवा दिन सफल यो होटलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डलाई पनि त्यतिकै रुपमा सफल बनाएको तर्क होटलका संस्थापक अध्यक्ष प्रभाकर सम्सेर राणाले दिए । उनका अनुसार सोल्टीले नेपालको पर्यटन सेवामा सुरु गरेको गुणस्तरीय पर्यटन सेवाको ब्राण्ड नै आजसम्मको सफलता हो । होटलको सेवालाई एयरलाइन्स क्याटरिङ सेवामा सफल भएको छ । भने संचलनको तयारीमा रहेको नेपालजञ्ज र निर्माणाधिन पोखरासम्मको शाखाको सफलता पनि सोल्टीकै ब्राण्ड भएको राणाको तर्क छ ।
विसं २०२२ सालमा नै दुरगामी परिकल्पना गरेर होटल स्थापना गर्न सक्नुले नै आजको आधा शताव्दीको यात्रा पार भएको सोल्टी होटल संचालक समितिका अध्यक्ष दिनेशबहादुर विष्टको भनाइ छ । उनले निजी क्षेत्रको सहभागितमा नेपालमा आउने पाहुनाका स्वगत सत्कार निकै प्रभावकारी भएको पनि बताए ।
होटल संघ (हान)का अध्यक्ष अमरमान शाक्यले नेपालको पर्यटनमा उच्च स्तरको पर्यटकीय सेवा दिन सोल्टी सफल भएको बताए । उनले पछिल्लो समय होटल क्षेत्रमा मात्रे १२ सय वटा पर्यटकीय स्तरका होटलमा २३ हजार कोठा थप हुन लागेका जानकारी दिए । यी होटलमा ३७ हजार बेड क्षमता विस्तार हुने जानकारी दिए ।