काठमाडौं, ९ मंसिर । म्याक्स मनी मलेसिया तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही २०१६ को नोभेम्बर महिनादेखि आपसी रूपमा रकम आदान–प्रदानको सेवा प्रदान गर्ने सम्झौता गरेका छन् । यो सम्झौताबाट म्याक्स मनीको नेपालमा सञ्जाल बिस्तार भएको छ । आगामी दिनदेखि नेपालमा रहेका सिटी एक्सप्रेसका कुनै पनि काउन्टरबाट रकम प्राप्त गर्ने सेवा उपलब्ध रहेको छ । साथै, सिटी एक्सप्रेसको सेवामा पनि आयाम थपिएको छ ।

म्याक्स मनीका प्रमुख कार्यकारी अधिकृत ए. अब्दुल हामिदले भने, “म्याक्स मनी नेपालमा आफ्नो सेवालाई सहज तथा छरितो बनाउने कसरत गरिरहेको छ जसबाट मलेसियामा रहेका हजारौँ नेपालीले बिना झन्झट आफूलाई पायक पर्ने समयमा नै नेपालमा रेमिटान्स गर्न सकून् ।”
सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले भने, “मलेसियाको सबैभन्दा विस्तारिक रेमिटान्स सेवा प्रदायक म्याक्स मनीसँग सहकार्य गर्न पाउँदा हामी उत्साहित छौँ । हामीले मलेसियाबाट भित्रिने रकमका लागि हाम्रा पाँच हजारभन्दा बढी स्थानहरूबाट अब सहज रूपले सेवा दिने कुरामा विश्वस्त छौँ ।”
म्याक्स मनी मलेसियाको रकम सेवा व्यवसायको पूर्ण अनुमतिपत्र प्राप्त गर्ने पहिलो कम्पनी हो जसलाई ब्याङ्क नेगारा मलेसियाले सञ्चालन गरिरहेको छ । म्याक्स मनी विगत ३० वर्षदेखि सञ्चालनमा छ । त्यस्तै, नेपालको एक अग्रणी सेवा प्रदायक कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापान, साउदी अरेबिया, कतारका साथै विभिन्न देशहरूबाट रकम नेपालमा भित्र्र्याउने सेवा उपलब्ध गराउँदै अाएकाे छ ।