काठमाडौं, ७ मंसिर । नेपालले चालु आर्थिक बर्षको पहिलो चार महिनामा २७७ अर्ब व्यापार घाटा व्यहोरोको छ । भन्सार बिभागले तयार पारेको चार महिनाको तथ्यांक अनुसार नेपालले सो अवधीमा ३०१ अर्बको आयात गरेर जम्मा २४ अर्ब ४९ करोडको मात्रै निर्यात गर्न सफल भएको छ । नेपालले चार महिनामा १५७ वटा मुलुकसँग वैदेशिक व्यापार गरेको छ ।
नेपालको वैदेशिक व्यापार गत आवको सोही अवधीको तुलनामा ८७ दशमलब ८५ प्रतिशत बढेको देखिन्छ । नेपालको निर्यात १३ दशमलब शुन्य एकले वृद्धि हुँदा व्यापार घाटा ९९ दशमलब ५२ प्रतिशतले बढेको देखिन्छ ।
व्यापार नाफा पनि ?
नेपालले द्धन्द्धग्रस्त मुलुकहरु कंगो, सोमालिया र सुडान लगायतसँगको वैदेशिक व्यापारमा पनि नाफा गरेको देखिन्छ । नेपालले कंगोमा ३३ लाख १२ हजार रुपैंयाँको समान निर्यात गरेको छ भने आयात शुन्य रहेको छ । त्यस्तै, सुडानमा ४ लाख ३२ हजार मुल्य बराबरका समान निर्यात गरेको छ भने आयात शुन्य छ ।
सोमालियामा पनि ३२ हजार मुल्यका नेपाली उत्पादन पठाएको छ । उताबाट भने एक रुपैंयाँका समान पनि आयात गरेको छैन् । नेपालको मोजाम्बिक, भोभेट इजल्याण्ड, स्लोभेनिया, ग्रीस, लेबनान,इस्टोनिया, मोरोक्को, जर्जिया, माल्टा, मोनाको, न्यु क्यालेडोनिया, आइसल्याण्ड, बोस्निया एण्ड हर्जगोभिना, कोलम्बिया, क्रोयसिया, इस्ट टिमोर, जिम्बावे, बाहामास, बर्मुडा, कंगो, इक्वेडर, इरिट्रया, घाना, काजकिस्तान, किर्जिगिस्तान, मलावी, माल्दिभ्स, मरिसस, पानामा, पपुवा न्युगिनी, सोमालिया, सुडान, ताजकिस्तान, मेसेडोनिया, टोकलाउ, भेनेजुयला र जाम्बियासँगको वैदेशिक व्यापार नाफामा रहेको छ ।
भारत र चीनसँगको घाटा बढ्दो
नेपालले भारतबाट मात्रै एक अर्ब ९६ अर्ब रुपैंयाँको सामान आयात गरेको देखिन्छ भने नेपालले १३ अर्ब ५८ करोडका समान भारत निर्यात गरेको छ । सो आयात भनेको हालसम्मको कुल आयातको ६५ दशमलब २६ प्रतिशत हुन आउँछ । त्यस्तै चीनसँ ४५ अर्ब ८ करोडको समान आयात गरेर जम्मा ५१ करोड ९६ लाखको निर्यात गरेको छ । नेपालले कुल आयातको १४ दशमलब ९४ प्रतिशत बस्तु चीनबाट आयात गरेको छ भने अन्य मुलुकबाट १९ दशमलब ८० प्रतिशतको समान आयात गरेको छ ।
३३ अर्बको गाडी र २९ अर्बको फलाम
नेपालले यो चार महिनामा ३३ अर्ब ८१ करोड मुल्य बराबरका सवारी साधन र त्यसका पार्टपुर्जा आयात गरेको देखिन्छ । त्यस्तै ३२ अर्ब मुल्य बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । २९ अर्ब ६३ करोड मुल्यका आइरन तथा स्टिल आयात भएका छन् ।