काठमाडौं, ५ मंसिर । नेपालमा सिमेन्ट उद्योगहरु थपिंदै गएपनि यसको गुणस्तरमा भने अझै सुधार हुन सकिरहेको छैन । सिमेन्ट उत्पादनमा नेपाल आत्मनिर्भर बन्दै गएको अवस्थामा गुणस्तर कायम गर्न उत्पादन अगावै नेपाल गुणस्तरको प्रमाणपत्र लिनुपर्ने प्रावधानका बाबजुद पनि बजारमा गुणस्तरहिन सिमेन्ट उपलब्ध भइरहको नापतौल तथा गुणस्तर नियन्त्रण विभागले जनाएको छ ।
विभागले बजार अनुगमनका क्रममा पटक–पटक गुणस्तरहिन सिमेन्ट फेला पारेपछि वीरगंजका दुई र भैरहवाको एक सिमेन्ट उद्योगलाई एक हप्ता अघि सिलबन्दी गरेको छ । सिलबन्दी हुने उद्योगहरूमा वीरगंज–पथलैया औद्योगिक कोरिडोरमा पर्ने कलश सिमेन्ट र बाराको बकुलिया स्थित अरनिको सिमेन्ट उत्पादन गर्ने एडभान्स सिमेन्ट कम्पनी तथा भैरहवाको रिलायन्स सिमेन्ट रहेका छन् ।
बजार अनुगमनका क्रममा गुणस्तरहीन सिमेन्ट भेटिएपछि विभागले एक महिना पहिले नै पत्राचार गरी गुणस्तरयुक्त सिमेन्ट बजारमा पठाउन निर्देशन दिएको थियो । उद्योगले अटेर गरेपछि विभागले अर्को निर्णय नभएसम्म उत्पादन रोक्न निर्देशन दिंदै कम्पनीमा सिलबन्दी गरेको हो ।
नापतौल तथा गुणस्तर नियन्त्रण विभागले गुणस्तरहीन सिमेन्ट बजारमा पठाएको कारण सिलबन्दी गरिएको बताए पनि उद्योगीले भने हचुवाको भरमा प्रमाण विना नै पूर्वाग्रह राखेर सिलबन्दी गरेको आरोप लगाएका छन् ।
विभागले स्पष्टिकरणको मौका नै नदिई एकाएक सिलबन्दी गरेको उद्योगी एवं कलश सिमेन्टका सञ्चालक अनिल पटवारीले बताए । उनले विभागले हचुवाको भरमा सिलबन्दी गरी उद्योगको उत्पादनसमेत ठप्प पारेको आरोप लगाए ।
त्यसैगरी रिलायन्स सुपरटेक सिमेन्ट उद्योगका प्रबन्धक विनय झाले सिलबन्दी गरिएपनि के-कति कारणले सिलबन्दी गरिएको हो त्यस विषयमा जानकारी नभएको बताए ।