काठमाडौं ५, मंसिर । भारतबाट आगामी हिउँदमा थप २५० मेगावाट विजुली ल्याइने र लोडसेडिङ पूर्ण रूपमा हटाउने सरकारको तयारीले उद्योगी व्यवासायी उत्साहित भएका छन् । अहिले पनि उपत्यकामा लोडसेडिङ न्युन भएको सकारात्मक सन्देश प्रभाव भइरहेको बेला भारतबाट आउने विजुलीले हिउँदमा लोडसेडिङ नै नहुने भएपनि विशेषगरी औद्योगिक क्षेत्रलाई थप उत्साह दिएको उल्लेख छ ।
काठमाडौंमा लोडसेडिङ न्यून भएपनि उद्योगमा अहिले लोडसेडिङ भइरहेको छ । आगामी हिउँदबाट शून्य लोडसेडिङ हुने हो भने औद्योगिक उत्पादन बढ्नुका साथै लागत पनि थोरै हुने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले बताए । उनका अनुसार अहिले उत्पादनमुलक उद्योगमा लोडसेडिङ घटेको छैन । उद्योगमा लोडसेडिङ भएन भने त्यसको सकारात्मक प्रभाव तत्कालै परिहाल्ने पनि उनको भनाइ छ ।
उद्योग व्यवसायको लागि अहिले सबैभन्दा ठूलो लागत भनेकै जेनेरेटर संचालन गर्नु र उद्योग धन्दा पूर्ण क्षमतामा संचालन हुन नसक्नु भएको गोल्छाको भनाइ छ । उनका अनुसार पूर्ण क्षमतामा संचलन हुन पाएको अवस्थामा लागत कम पर्नै र त्यसको प्रभाव बजारमा ती बस्तुको थोरै भएपनि मूल्य घट्नसक्ने बुझाइ गोल्छाको छ ।
अहिले लोडसेडिङका बेला काठमाडौंमा एकैपटक ३०/४० हजार जेटेरेटर संचालन हुन्छ । त्यसको कम प्रयोग नहुनासाथ उपत्यकाको हावा प्रदूषित नै कम भएको पनि उल्लेख छ । लोडसेडिङका कारण उद्योग व्यवसायले मात्रै नभएर समग्र देशले नै लाभ लिने पनि गोल्छाको बुझाई छ ।
लोडसेडिङको अन्त्य हुनासाथ उत्पादन लागत घट्ने र व्यवसायिक उत्पादन पनि बढी हुने कसमस सिमेन्टका प्रवन्ध निर्देशक प्रवलजंघ पाण्डेको भनाइ छ । उनका अनुसार लोडसेडिङमा सबैभन्दा बढी संचलन गर्नुपर्ने साधन नै जेनेटर हो । यसले कस्ट मात्रै बढाउँछ । बत्ति नै औद्योगिक उत्पादनको मूल्यको अधार भएको पनि उनको बुझाइ छ ।
पाण्डेका अनुसार लोडसेडिङ अन्त्य हुनासाथ सिमेन्टमा नै ५ देखि ७ प्रतिशतले मूल्य घट्न सक्छ भने उनको भनाइ छ । लोडसेडिङ पूर्ण रूपमा हटेको अवस्था उद्योगभन्दा २४ सै घण्टा संचालन गर्न सकिन्छ । अहिले मुस्किलले २ सिफ्ट संचालन भएको उद्योग भन्दा तीन सिफ्ट हुन सक्छ । यसले गर्दा ३३ प्रतिशतसम्म उत्पादन र रोजगारी बढाउन सकिने दाबी पाण्डेको छ ।
२४ सै घण्टा विजुली हुने हो भने होटल क्षेत्रको तीन गुणासम्मको लागत कम हुने होटल संघ नेपालका अध्यक्ष बीके श्रेष्ठले बताए । उनका अनुसार ठूला होटलमा जेनेरेटर संचालन गर्दैमा ठूलो खर्च लाग्छ । नियमित विजुली आपूर्ति हुँदा जति खर्च लाग्छ त्यसको तीन गुणा बढी जेनेरेटर संचालन गर्दालागत बढ्ने दाबी श्रेष्ठको छ । पाँचतारे होटलमा कोठाको भाडा जेनेरेटर कस्टले कम्तिमा ७ देखि ८ सय रुपैयाँ सजिलै घटाउन सक्ने होटलको भनाइ छ ।