काठमाडौं, ३ मंसिर । चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा २६ वटा बाणिज्य बैंकहरुले ९ अर्ब २९ करोड ६७ लाख नाफा कमाएका छन् । यो नाफा गत आर्थिक बर्षको सोही अवधीमा तिनै बैंकहरुले कमाएको नाफा भन्दा ३ अर्ब एक करोड ८५ लाख रुपैंयाँले बढि हो । गत आवको पहिलो त्रैमासिकमा २६ बाणिज्य बैंकहरुले जम्मा ६ अर्ब २७ करोड ८२ लाख नाफा कमाएका थिए ।
नेपाल बंगलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंक बाहेक सबै बाणिज्य बैंकहरुले पहिलो तीन महिनाको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । यसरी वित्तिय विवरण सार्वजनिक गर्ने अधिकांश बैंकका नाफा वृद्धि भएको छ । तर राष्ट्रिय बाणिज्य बैंक र सिभिल बैंकको नाफा भने घटेको छ । गत आवको पहिलो त्रैमासिकमा ६० करोड ३९ लाख नाफा कमाउन सफल भएको राष्ट्रिय बाणिज्य बैंक यसपाली खुम्चेर ५० करोडमा झरेको छ भने ५ करोड ५८ लाख कमाएको सिभिल पनि यसपाली खुम्चेर एक करोड ४५ लाखमा सिमित भएको छ ।
पहिलो तीन महिनामा सबै भन्दा धेरै नाफा कमाउने बैंकका रुपमा नेपाल बैंक लिमिटेड स्थापित भएको छ । गत आवको पहिलो तीन महिनामा ४४ करोड ४३ लाख नाफा कमाएको नेपाल बैंकले चालु आवको सोही अवधीमा भने एक अर्ब ६६ करोड नाफा कमाउन सफल भएको छ । त्यस बाहेक सिटिजन्स बैंकले १४ करोेडबाट बढाएर ३४ करोड नाफा कमाउन सफल भएको छ भने कुमारी बैंकले पनि गत बर्षको ४ करोड नाफालाई बढाएर १३ करोड पुर्याएको छ ।

ग्लोबल आइएमई बैंकले ३१ करोड नाफालाई बढाएर ४१ करोड ६७ लाख पुर्याएको छ । त्यस्तै, एनएमबी बैंक पनि धेरै नाफा वृद्धि गर्ने बैंकको सूचिमा अग्रस्थानमै देखिन्छ । गत आवको पहिलो तीन महिनामा जम्मा १४ करोड २८ लाख नाफा कमाएको एनएमबीले चालु आवको सोही अवधीमा ३८ करोड ६१ लाख नाफा पुर्याएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४२ करोड ३८ लाखबाट बढेर ७७ करोडमा पुगेको छ । एनआइसी एसिया बैंकले पनि १७ करोडबाट बढाएर २६ करोड १० लाख नाफा कमाउन सफल भएको छ ।
गत आवको पहिलो त्रैमासिकमा १७ करोड ३१ लाख नाफा कमाएको माछापुछ्रे बैंकले यसपाली २४ करोड ६९ लाख नाफा आर्जन गरेको देखिन्छ । यस बाहेक सानिमा बैंक, मेगा बैंक, नेपाल एसबिआई बैंक, प्रभु, लक्ष्मी, सनराइज, स्ट्याण्डर्ड चाटर्ड, सिद्धार्थ, एभरेष्ट, बैंक अफ कमाठाडौं लुम्बिनी, नबिल, कृषि विकास बैंक, प्राइम, एनसीसी लगायतका बैंकले नाफा बढाएका छन् ।