बैतडी, ३ मङ्सिर । बैतडीको पुरचौँडी क्षेत्रका एक दर्जन गाविसका सर्वसाधारण बैंक नहुदा राहदानी सेवा लिनबाट बञ्चित भएका छन् । सो क्षेत्रमा राहदानी सेवा दिने असार पहिलो साता हाटमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयबाट रा बैंक नहुदा राहदानी जारी हुन सकेन ।
जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार राहदानीका लागि आवश्यक पर्ने रकम जम्मा गर्ने बैंक नहुँदा पुरचौँडी क्षेत्रका एक दर्जन गाविसका सर्वसाधारण दुई दिन लगाएर सदरमुकाम आउनुपर्ने बाध्यता हट्न सकेको छैन ।
असार ६ गतेदेखि इलाका प्रशासन कार्यालय स्थापना गरिएपनि राहदानीको काम गर्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए । “पुरचौँडी हाटमा कुनै पनि बैंक छैनन्, रकम जम्मा गर्ने व्यवस्था नहुँदासम्म त्यो काम गर्न सकिँदैन”, भने , “यसका लागि सर्वसाधारण सदरमुकाममा नै पुग्नुपर्छ ।”
हाललाई इलाका प्रशासन कार्यालयवाट सिफारिस बनाएर जिल्ला प्रसासनबाट जारी गर्ने गरेको जानकारी गराउँदै राहदानीका लागि वैकल्पिक व्यवस्थाको तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी कुँवरले बताए ।
इलाका प्रशासनले नेपाली नागरिकताको प्रमाणपत्र, प्रतिलिपि, नाबालक परिचयपत्र, विभिन्न सिफारिस, प्रमाणित गर्नुपर्ने कागजात लगायतका सेवा दिनुका साथै स्थानीय बजार अनुगमन, कार्यालयको अनुगमन लगायतका कामसमेत गरिरहेको छ ।
कार्यालय स्थापनापश्चात् राहदानीबाहेक अन्य सेवा प्रदान गरिँदै आएकाले पुरचौँडी क्षेत्रका हाट, मल्लादेही, कोटिला, तल्लादेही, मठैराज, भूमिराज, विजयपुर, न्वादेउ, महादेवस्थान, भटना, कुवाकोट गाविसका झन्डै ६० हजारभन्दा बढी बासिन्दा लाभान्वित भएका छन् । रासस