२५ हजार भारु साट्न भारतका तीन सर्त, नेपाल राष्ट्र बैंकलार्इ पनि समस्या

<p>हामीले नेपालमा रहेका ५०० र १००० दरका भारतीय नोट साट्ने बारेमा भारतीय दूतावाससँग छलफल गरेका थियौँ । डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीसहितको टोली छलफलमा सहभागी थियो । नेपाली नागरिकले २५ हजार भारतीय रुपैंयाँसम्म राख्न पाउने व्यवस्था छ । त्यसरी बैद्य रुपमा राख्न दिइएको ५०० र १००० दरका भारतीय नोट साट्न भारत तयार रहेको उनीहरुले बताएका थिए [&hellip;]</p>

भिष्मराज ढुंगाना

भिष्म ढुंगाना, कार्यकारी निर्देशक तथा विदेशी विनियम व्यवस्थापन विभाग प्रमुख, नेपाल राष्ट्र बैंक

हामीले नेपालमा रहेका ५०० र १००० दरका भारतीय नोट साट्ने बारेमा भारतीय दूतावाससँग छलफल गरेका थियौँ । डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीसहितको टोली छलफलमा सहभागी थियो । नेपाली नागरिकले २५ हजार भारतीय रुपैंयाँसम्म राख्न पाउने व्यवस्था छ । त्यसरी बैद्य रुपमा राख्न दिइएको ५०० र १००० दरका भारतीय नोट साट्न भारत तयार रहेको उनीहरुले बताएका थिए । तर उनीहरुका केहि सर्त छन्, जसलाई हामीले सम्बोधन गर्नुपर्नेछ ।

सर्त नम्बर एकः नेपाल र भारतकाबिचमा खुल्ला सीमाना छ । जनता बिना कुनै रोकतोक वारिपारि आवत जावत गर्छन् । २५ हजार रुपैंयाँ ल्याउने सबैको नोट साटिदिने हो भने उताको कालोधन यता आउने निश्चित छ । खुल्ला बोर्डरका कारण उतापट्टीको कालोधन यता आएर साटिँदैन भन्ने ग्यारेण्टी उनीहरुले चाहेको देखियो ।

सर्त नम्बर दुईः रकम साट्दा डिक्लेरेशन फर्म भराउनु पर्छ भन्ने उनीहरुको माग छ । भारतले जस्तै नेपालले पनि रकम साट्ने बेलामा डिक्लेरेशन फारम भर्नु पर्छ । त्यस्तो फारमको नमुना बनाएर आफूलाई उपलब्ध गराउनु पर्ने र आफुले सो फारम अनुसार सटहीको व्यवस्थाका लागि आफ्नो सरकारलाई आग्रह गर्ने उनीहरुले आश्वासन दिए ।

सर्त नम्बर तीनः भारतलाई जाली नोटको ठुलो त्रास रहेछ । भारतमै पनि जाली नोट पत्ता लगाउने सिमित मेसिन मात्रै छन् । भारतका एटिएमहरुले नै जाली नोट पत्ता लगाउन सकिरहेका छैनन् । एटिएम बुथबाट धमाधम जाली नोट निस्कन्छन् । त्यस्ता जाली नोट नेपालमा पनि पर्याप्त छन् । जाली नोट भेटियो भने कसरी फिर्ता हुन्छ ? भन्ने उनीहरुको चासो देखियो । नेपालले सटही सुबिधाका क्रममा संकलन गर्ने नोटबाट त्यस्ता जाली नोट कसरी पहिचान गर्छ । त्यस्ता जाली नोट जनताले साट्न ल्याए भने नेपालले के गर्छ भन्ने अर्काे चासो देखियो ।

हाम्रो जवाफ
हामीले सबै भन्दा पहिले ५०० र १००० दरका भारतीय नोटलाई बैंकिङ च्यानलमा जम्मा गराउछौं भन्यौं । यसले बैंकिङ प्रणाली विकासमा पनि सहजता ल्याउँछ भन्ने हाम्रो मान्यता रह्यो । त्यसरी खातामा जम्मा गर्ने व्यवस्था गरेपछि प्रत्येकलाई केवाइसी फर्म भराउँछौं । डिक्लेरेशन फर्म भराउँछौं भन्यौं । त्यस्तो फर्म डिजाइन गरेर भारतलाई हेर्न पठाउँछौं पनि भनेका छौं ।

हामीलाई पनि समस्यै छ
यसमा हामीलाई पनि केहि समस्या भने पक्कै छ । अहिले नेपालमा एक करोड २० लाख खाता छन् । तीमध्ये ९० लाख बचत खाता छन् । यी सबै खातामा रकम साट्ने प्रयोजनका लागि रकम जम्मा गरिए भने अहिलेको बैंकिङ सिस्टमका कर्मचारीले काम गर्नै सक्दैनन् । त्यो रकम बुझेर खातामा राख्न समय पुग्दैन् । एक दिनमा एक जना कर्मचारीले ६० देखि ७० वटा ट्रयान्ज्याक्सन मात्रै गर्न सक्छ । यस्ता समस्याको समाधानका लागि हामीले पनि सोच्नु पर्छ । यति मात्रै होइन जाली नोट कसरी पहिचान गर्ने भन्ने कुरामा पनि हामी सजग हुनै पर्छ ।

उनीहरुको सुझाव
उनीहरुले एउटा डिक्लेरेशन फर्मको डिजाइन बनाउनुस् भनेका छन् । सबै बाणिज्य बैंकका सिइओहरुसँग विस्तृत छलफल गर्न सुझाएका छन् । सिइओहरुसँग सटही सुबिधालाई कसरी व्यवस्थापन गर्ने भन्ने छलफल गरेर निर्णय र मोडालीटीसहित पत्राचार गर्नुस् अनि हामी हाम्रो सरकारलाई सोही अनुसार आग्रह गर्छाै भनेका छन् ।(ढुंगानाले व्यवस्थापिका संसदको अर्थ समितिमा व्यक्त गरेको धारणामा आधारित )

Share News