भारतले ढिला गरी भए पनि नेपालीसँगकाे भारू साट्ने विज्ञहरूकाे विश्वास, सरकारी प्रयास अप्रर्याप्त

<p>काठमाडौं, १ मंसिर । नेपालीसँग भएको पच्चीस हजार भारुसम्म सटही सुविधाका लागि सरकारले तत्काल भारतीय पक्षसँग गम्भीर छलफल गर्नुपर्नेमा अर्थविदहरुले जोड दिएका छन् । २५ हजार रुपैयाँ भारु राख्न पाउने व्यवस्था भएकाले उक्त परिमाणको रकम साट्न सरकारले भारतसँग विशेष छलफल गर्नुपर्नेमा उनीहरुको जोड थियो । काठमाडौमा बुधबार भएको कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले भारतले [&hellip;]</p>

काठमाडौं, १ मंसिर । नेपालीसँग भएको पच्चीस हजार भारुसम्म सटही सुविधाका लागि सरकारले तत्काल भारतीय पक्षसँग गम्भीर छलफल गर्नुपर्नेमा अर्थविदहरुले जोड दिएका छन् । २५ हजार रुपैयाँ भारु राख्न पाउने व्यवस्था भएकाले उक्त परिमाणको रकम साट्न सरकारले भारतसँग विशेष छलफल गर्नुपर्नेमा उनीहरुको जोड थियो ।1000-indian-rupee-note-front

काठमाडौमा बुधबार भएको कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले भारतले भारु ५ सय र १ हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपाललाई पनि त्यसको प्रत्यक्ष असर परेको भन्दै त्यसको समाधानका लागि सरकारले गम्भीर पहल गर्नुपर्ने बताए । सरकारले अहिले गरिरहेको प्रयास पर्याप्त नभएको उनको भनाई थियो ।

‘अहिले पनि प्रधानमन्त्री र राष्ट्र बैंकका गभर्नरले भारतीय पक्षसँग कुराकानी गरिरहनुभएको छ भन्ने कुरा आएको छ त्यो पर्याप्त देखिदैन ।’ उनले भने, ‘सरकारले यसबारे अझै प्रभावकारी कदम चाल्न आवश्यक छ ।’ भारतीय कदमबाट नेपालीहरुले विदेशी मुद्रा धेरै सञ्चय गरेर राख्न नहुने पाठ सिक्नुपर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै पुर्व गभर्नर एवम् अर्थविद् डा. तिलक रावलले भारतले त्यहाँको ठूलो पुराना नोट ‘अवमूल्यन’ गरेयता आफ्नै जनताको समस्या समाधान गर्न नसकिरहेका बेला नेपाल सरकारले पत्र पठाउने वित्तकै सम्बोधन गर्छ भनेर अपेक्षा गर्न नसकिने बताए । यद्यपी सरकारले पहल जारी राख्नुपर्नेमा उनको जोड थियो । ‘राष्ट्र बैंकले वा सरकारले पत्र लेख्ने वित्तिकै तुरुन्तै भारतले पैसा साटिदिन्छ भन्ने कुरा होइन’, रावलले भने, ‘त्यसैले पैसा साटिएन भनेर तुरुन्तै आत्तिहाल्नुपर्ने अवस्था पनि छैन ।’

भारत सरकारकै आग्रह अनुसार राष्ट्र बैंकले नेपालमा ५ सय र १ हजारको भारु नोट चलनचल्तीमा ल्याएको स्मरण गर्दै पूर्व गभर्नर रावलले भने, ‘भारतले पनि नैतिक रुपमा नेपालीसँग भएको रकम साट्नुपर्छ ।’ नेपालीहरुले पनि अब आफ्नै देशको मुद्रा पनि गोजिमा वा सिरानी मुनी नराखी बैंक तथा वित्तीय संस्थामा राख्न पाठ सिक्नुपर्ने उनको भनाई थियो ।

अर्थविद् डा. डिल्लीराज खनालले भारु नोटका विषयमा भारतले हालै चालेको कदम नौलो नभएपनि नेपालमा त्यसको प्रभाव गहिरो रुपले परेको औँल्याए । २५ हजारसम्म भारु नोट राख्न पाउने गरी सरकारले नै व्यवस्था गरेकाले उक्त परिमाणमा रकम साट्ने व्यवस्था मिलाईदिने दायित्व सरकारको भएको खनालको भनाई थियो ।

कार्यक्रममा अर्थविद् डा. हरि रोकाले कुनै पनि राष्ट्रमा परिस्थितिअनुसार ‘मनि डिमोर्टिलाईज’ गर्नु अस्वभाविक नभएपनि पछिल्लो भारतीय कदम पूर्ण रुपमा मौद्रिक व्यवस्थापनसँग सम्बन्धित नभएको टिप्पणी गरे ।

कालोधन, आतंकवाद र नक्कली नोटलाई निरुत्साहित गर्न भन्दै गतसाता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५ सय र १ हजार भारु नोटमा प्रतिबन्ध लगाएको घोषणा गरेका थिए । भारतले उक्त दरका नोटमा प्रतिबन्ध लगाएको लगत्तै गत शुक्रबारै नेपालीसँग भएको भारु सटहीका लागि आग्रह गर्दै नेपाल राष्ट्र बैंकले पत्र पठाएपनि भारतले त्यसको जवाफ दिएको छैन ।

पत्र बुझेको एकसाता पुग्दासमेत भारतबाट कुनै जवाफ नआएपछि आफुसँग भएको रकम नसाटिने आशंकामा सर्वसाधरणमा चिन्ता बढ्दै गएको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिीबि नेपालले पनि भारतीय समकक्षी उर्जित पटेलसहित भारतीय राजदूत रणजीति रायलगायतका भारतीय अधिकारीसँग पटक–पटक छलफल तथा वार्ता गरिरहेका छन् ।

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीअन्तर्गत ३ करोड ३६ लाख ९० हजार भारु रहेको बताएपनि सीमा क्षेत्रका नेपालीसँग त्यो धैरै गुणा बढी भारु रहेको ठानिएको छ । सुदुरपश्चिममा मात्रै पाँच अर्बभन्दा बढी भारु रहेको अनुमान गरिएको छ ।

Share News