काठमाडौं, ३० कात्तिक । साताकोे सुरुका दुई दिन बजार उकालो लागेपनि मंगलबार भने ओरालो लागेको छ । यसदिन बजार ४दशमलव ३७ अंकले ओरालो लागेको हो । विकास बैंक, उत्पादनमूलक र अन्य बाहेक सवै उपसमुह पनि ओरालो लागेको छ ।
नेपाल टेलिकमको वित्तिय विवरण सार्वजनिक भएपछि यस कम्पनीको सेयर मुल्य ९ रुपैयाँले बढेर ६८५ मा कारोबार भएको छ । नेपाल टेलिकमको मुल्य बढ्दा अन्य समूहको सुचक पनि केही बढेको हो ।
यसदिन बैकिङ ६ दशमलव ८९ अंक, होटल ३३ दशमलव २ अंक, जलविद्युत ३० दशमलव ५४ अंक, विमा २३ दशमलव ६ अंक र फाइनान्स १ दशमलव २ अंकले घटेको छ भने विकास बैंक १ दशमलव ९१ अंक, उत्पादनमूलक ४ र अन्य ९ अंकले बढेको छ । मंगलबार पनि लगानीकर्ताहरु एभरेष्ट बैंकको नै पछि लागेका छन् । आइतबार २० करोडको कारोबार भएको सो बैंकको सोमबार १२ करोडको हाराहारीमा कारोबार भएको थियो । मंगलबार एभरेष्ट बैंकको १७ करोडको कारोबार भएको छ ।
यसदिन एभरेष्ट बैंकसँगै वढी कारोबार हुनेमा बैंक अफ काठमाडौ लुम्विनी, नेशनल लाइफ इन्सुरेन्स कम्पनी र कुमारी बैंक रहेका छन् । बढी कमाउनेहरुमा गरिमा विकास बैंक,किसान माइक्रो फाइनान्स वित्तिय संस्था, नागवेली लघुवित्त विकास बैंक र एनवी इन्सुरेन्स कम्पनी रहेका छन् ।
त्यस्तै सवैभन्दा बढी गुमाउनेहरुमा महिला सहयात्रा माइक्रो फाइनान्स वित्तिय संस्था, बोटलर्स नेपाल ,बुटवल पावर कम्पनी लगायतका रहेका छन् । मंगलबार दिनभर एकसय ३९ कम्पनीको ८० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।