काठमाडौं, ३० कात्तिक । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले नेपालमा रहेका भारु पाँच र हजार साट्ने सम्बन्धमा भारतीय सरकारबाट कुनै पनि औपचारिक जानकारी प्राप्त नभएको स्पष्ट पारेका छन् । भारतीय मिडियामा भारतीय रिर्जभ बैंकले नेपालमा रहेको भारतीय रुपैयाँ साट्नु पर्छ भन्ने छैन र त्यसै हामी उक्त रुपैयाँ बाध्य छैनो भनी आएको समाचारसँगै नेपाली व्यवसायीहरु गभर्नर नेपाललाई भेट्न गएका थिए ।
भारु प्रतिबन्ध, आरबीआईले गरेको पछिल्लो कदम र नेपाली बजारमा उत्पन्न समस्यबारे छलफल गर्न राष्ट्र बैंक पुगेका नेपाल उद्योग बाणिज्य महासंघका पदाधिकारीहरुको टोलीसँग गभर्नर नेपालले भारतीय ५०० सय र हजारको नोट साट्ने सम्बन्धमा कुनै औपचारिक जानकारी नआएको स्पष्ट पारेका हुन् । टोलीमा सहभागी एक सदस्यका अनुसार गभर्नर नेपालले यो अन्योल छिटै अन्त्य हुने बताएका थिए । उनले नेपालमा रहेका भारु पाँच सय र हजार साट्न रिजर्भ बैंक अफ इन्डियाले अस्वीकार गरेको हल्ला गलत भएको बताएका थिए ।
भारतले भारु पाँच सय र हजारमा प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले नेपालमा रहेको साढे तीन करोड भारु साट्न सहयोग गरिदिन भारतीय रिजर्भ बैंक अफ इन्डियालाई औपचारिक पत्र पठाइसकेको छ । त्यो पत्रमा आफै निर्णय लिन असमर्थ रहेको जनाउँदै आरबीआईले नेपाल राष्ट्र बैंकलाई सुझाव दिएपछि हिजो सोमबार भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी र नेपालका प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच नोट साट्ने व्यवस्था मिलाउने सम्बन्धमा टेलिफोन वार्ता भएको थियो ।
त्यस्तै अर्थ मन्त्री कृष्णवहादुर महराले भारतीय समकक्षी अरुण जेट्लीलाई फोन गरेर भारतीय सरहकै नोट सटही सुविधा दिन आग्रह गरेका हुन् । ‘फोनवार्तापछि भारतीय समकक्षीबाट हाल उब्जिएको समस्या समाधान गर्न भारत सरकार प्रयत्नशील रहेको बताइएको थियो । तर मंगलबार भारतीय सञ्चार माध्यमहरुले आरबीआईले नेपाली रुपैयाँ नसाट्ने निर्णय गरेको समाचारहरु सम्प्रेषण गरिरहेका छन् ।
भारतका गभर्नरले भारतीय सरकारलाई पत्रसहित जानकारी गराएको र निर्णय कुर्न नेपाललाई आग्रह गरेको गभर्नर नेपालले बताए । भेटमा अध्यक्ष पशुपति मुरारका नेतृत्वको टोलीले यसबारेमा अन्योल हटाउन र भारतीय पक्षसँग कुरा गरेर समाधान खोज्न सुझाव दिएका थिए ।