काठमाडौं, २६ कात्तिक । राष्ट्रिय गौरवको आयोजना मध्ये एक अपर तामाकोशी जलविद्युत आयोजना गत मंगलबार आयोजनाको निरीक्षण गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको लगानीबाट द्वन्द्वकालमा वेपत्ता भएको तथा शहिद परिवारका सदस्यहरुलाई यस कम्पनीको सेयर दिने बताएका छन् । तर यस्तो सेयर कति जनाले पाउने र कति प्रतिशत सेयर उनीहरुलाई वितरण गरिने भन्नेबारेमा गृहकार्य नभएको कम्पनीको प्रबन्ध निर्देशक विज्ञानराज श्रेष्ठले बताएका छन् ।

निर्माणाधिन अपर तामाकोशी जलविद्युत आयोजना
‘शहिद र बेपत्ता परिवारका सदस्यलाई सेयर दिनुपर्छ भन्नु भएको छ । तर प्रति परिवारलाई कति सेयर दिने र कुल सेयरको कति सेयर उनीहरुलाई दिने भन्ने विषयमा गृहकार्य भएको छैन’ श्रेष्ठले भने ।
४५६ मेगावाट क्षमताको अपर तामाकोशी जलविद्युत आयोजनाले प्रभावित स्थानीय जनताका लागि दिने भनेको सेयर भने यस आर्थिक वर्षभित्र निष्काशन गर्ने तयारी भएको उनले बताए । ‘चालु आर्थिक वर्ष भरीमा आयोजना प्रभावित दोलखाली जनताका लागि सेयर जारी गर्ने तयारी गरिरहेका छौं, त्यसपछि सर्व साधारणका लागि जारी गर्छाै’–श्रेष्ठले विकासन्युजसँग भने ।
आयोजनाले २०७२ सालमा नै स्थानीय जनताका लागि सेयर निष्काशन गर्ने तयारी गरेको थियो तर भूकम्प गएपछि भने त्यो रोकिएको थियो ।
आयोजनाले प्रभावित दोलखाली जनताका लागि १० प्रतिशत र सर्व साधारणका लागि १५ प्रतिशत सेयर निष्काशन गर्ने मोडालिटी तयार पारेको छ ।
यसअघि नै आयोजनाले २०७२ जेठ २९ गते कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताहरुको लागि १ करोड ८२ लाख ९९ हजार ५२० कित्ता, कम्पनीलाई ऋण प्रदान गर्ने संस्थाका कर्मचारीहरुका लागि ३० लाख ४९ हजार ९२० कित्ता र कम्पनी तथा विद्युत प्राधिकरणका कर्मचारीहरुका लागि ४० लाख ६६ हजार ५६० कित्ता सेयर निष्काशन गरिसकेको छ ।
हालसम्म आयोजनाको ८१ दशमलब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । विसं २०६८ बाट निर्माण सुरु भएको आयोजना २०७४ साल असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको थियो । तर २०७२ सालको भूकम्पले असर गरेपछि निर्माण प्रभावित बनेको थियो । आयोजनाले हालसम्म ३१ अर्ब ८४ करोड खर्च गरिसकेको छ । कुल ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा भूकम्पले क्षति पुर्याएपछि ४१ अर्ब ७२ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।