काठमाडौं, २६ कात्तिक । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफामा ४ करोड ३५ लाख रुपैयाँ कमाउन सफल भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १ सय ५७ दशमलव ०२ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले मुनाफा १ करोड ६९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
बैंकले जगेडा कोषमा ३० करोड ७२ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २० दशलमव ५३ प्रतिशतले वृद्धि गरी ७ अर्ब ९४ करोड ७९ लाख रुपैयाँ संकलन गरेर कर्जामा ६ अर्ब ७६ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनाभन्दा ३० दशमलव ०३ प्रतिशतले वृद्धि हो । बैंकको खुद व्याज आम्दानीमा १ सय २२ दशमलव ४९ प्रतिशतले बढेर ९ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै संचालन मुनाफामा ४९ दशमलव ३५ प्रतिशत वृद्धि गरी ३ करोड ९८ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ । बैंकको प्रोभिजनमा ३ करोड २ लाख रुपैयाँ राखिएको छ भने २७ लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ ।
बैंकको प्रतिशेयर आम्दानी वार्षिक १७ दशमलव ६६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २२ दशमलव ०३ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३१ दशमलव १२ रुपैयाँ र तरलता अनुपात २७ दशमलव १३ प्रतिशत रहेको छ । बैंकको निस्कृय कर्जा २ दशमलव १३ प्रतिशत र जोखिम युत्त सम्पत्ति १६ दशमलव ४३ प्रतिशत रहेको छ ।