६ महिनाभित्रमा आयोजना सम्पन्न गरे सरकारले पुरस्कृत गर्छः प्रधानमन्त्री दाहाल

<p>दोलखा, २३ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई आगामी ६ महिनाभित्र सम्पन्न गरे सरकारले कर्मचारीलाई पुरस्कृत गर्ने बताएका छन् । मंगलबार आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरी कर्मचारीहरुसँगको कुराकानीमा उनले देशकै मोडेलका रुपमा रहेको यो आयोजनाको काम निश्चित अवधिभन्दा अगावै सकेर देशकै अन्य आयोजनालाई समेत उदाहरण दिई छिटो निर्माण कार्य सम्पन्न गर्न [&hellip;]</p>

pm_prachandaदोलखा, २३ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई आगामी ६ महिनाभित्र सम्पन्न गरे सरकारले कर्मचारीलाई पुरस्कृत गर्ने बताएका छन् ।

मंगलबार आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरी कर्मचारीहरुसँगको कुराकानीमा उनले देशकै मोडेलका रुपमा रहेको यो आयोजनाको काम निश्चित अवधिभन्दा अगावै सकेर देशकै अन्य आयोजनालाई समेत उदाहरण दिई छिटो निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनुभयो । उनले आयोजनाले कुनै आर्थिक समस्या व्यहोर्नु नपर्ने बताउँदै आयोजनालाई सरकारले छिटो सम्पन्न गर्न जस्तोसुकै सहयोग गर्ने पनि बताए । प्रधानमन्त्री दाहालले आयोजना पारदर्शी तरिकाले सम्पन्न गर्न र रोल्वालिङ डाइभर्सन तथा तामाकोसी ५ को समेत काम दु्रत गतिमा अगाडि बढाउन निर्देशन दिए ।

उनले भूकम्पले भत्काएको सडकलगायत संरचनाको पुनः निर्माण गरी आयोजनाको कामलाई तीव्रता दिन आग्रह गरे । राष्ट्रिय गौरवको स्वदेशी पुँजीमा दोलखाको लामाबगर गाविसमा निर्माणाधीन चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण कार्य ८२ प्रतिशत सम्पन्न भएको आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले बताए । विसं २०६८ बाट निर्माण सुरु भएको आयोजना २०७४ साल असारसम्म निर्माण सम्पन्न हुनुपर्नेमा २०७२ सालको भूकम्प, निरन्तरको पराकम्प र नाकाबन्दीले प्रतिकूल असर गरेकोले कार्य प्रगति प्रतिवेदनअनुसार ८१।९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको हो ।

विभिन्न चार लट गरी निर्माण सुरु गरेको आयोजनाको ८२ प्रतिशत लक्ष्य हासिल गर्दा कुल रु ३१ अर्ब ८४ करोड खर्च भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका वातावरण विभाग प्रमुख एवम् प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए । आयोजना निर्माणका लागि ३५ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको भए पनि विभिन्न कारणले लागत बढेर ४१ अर्ब ७२ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

लट–एकको ठेकेदारले भूकम्पले क्षतिग्रस्त भएको प्रवेशमार्गअन्तर्गत काभ्रे भिरमा तीन सय ३० मिटर लम्बाइ हुने सुरुङमार्गको गत असारदेखि सुरु गरी सोमबारसम्म दुई सय ७२ मिटर खन्ने कार्य सम्पन्न गरेको छ । सुरुङमार्गको निर्माण सम्पन्न भएपछि बाँधस्थलको विभिन्न थप कार्य गर्न सकिने आयोजनाले जनाएको छ । रासस

Share News