काठमाडाैं, २१ कात्तिक । कारोबार दैनिकका पूर्व सम्पादक तथा नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व उपाध्यक्ष सञ्जय न्यौपानेको ४५ वर्षको अल्पायुमै भएको निधन भएको छ । एक वर्षदेखि मस्तिष्क सम्बन्धि गम्भीर रोग एनाप्लाष्टिक एट्रोसिटोमाको उपचार गराइ रहेका न्यौपानेको शनिबार साँझ नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा निधन भएको हो । त्यसअघि भारतको मेदान्त अस्पतालमा उनको उपचार भइरहेको थियो ।
कान्तिपुरको ललितपुर संवाददाताबाट पत्रकारिता शुरु गरेका न्यौपाने कान्तिपुर दैनिकको आर्थिक ब्युरो प्रमुख, डेपुटीचिफ रिपार्टर हुँदै २०७० देखि २०७२ सम्म कारोबार दैनिकको सम्पादक रहेर काम गरेका थिए ।
ललितपुर बडिखेलका स्थायीबासिन्दा न्यौपानेका बुवा,आमा, श्रीमती एक छोरा र एक छोरी छन् ।
उनको निधनले नेपालको आर्थिक पत्रकारिताका क्षेत्रमा अपुरणीय क्षतिपुगेको भन्दै नेपाल आर्थिक पत्रकार समाजले न्यौपानेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ । झण्डै दुई दशकदेखि आर्थिक पत्रकारितामा रहेका न्यौपानेले सेजनको कार्य समिति सदस्य र उपाध्यक्ष समेत भएर सेवा गरेका थिए । न्याैपानेकाे निधनले अार्थिक क्षेत्रसहित सिंगाे पत्रकारिता क्षेत्र स्तभ्ध बनाएकाे छ ।