गोरखा, २० कात्तिक । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बूढीगण्डकी प्रभावित गोरखा र धादिङका स्थानीयवासीलाई उचित मुआब्जा दिएर आयोजनाको काम तीव्ररुपमा अघि बढाउनुपर्ने बताएका छन् ।
गोरखाको दर्बुङ गाविसस्थित दर्बुङफाँटमा शनिबार आयोजित कार्यक्रममा भट्टराईले मुआब्जा निर्धारण समितिले तोकेको मुआब्जामा केही बढाएर प्रभावित गाविसवासीलाई खुसी बनाउँदै आयोजनाको काम अघि बढाउनुपर्नेमा जोड दिए ।
बूढीगण्डकी आयोजना निर्माण हुँदा गोरखाका विभिन्न १४ र धादिङका १३ गाविस प्रत्यक्ष रुपमा प्रभावित हुनेछन् । प्रभावित क्षेत्रका जनतालाई दोब्बर, तेब्बर मुआब्जा दिनुपर्ने भन्दै उनले भने “जसरी पनि बूढीगण्डकी आयोजना समयमै बनाउनुपर्छ ।”
बूढीगण्डकी जलविद्युत् आयोजना बनाउने नाउँमा गरिब, पीडित जनतालाई थोरै मुआब्जा वितरण गर्न नहुने बताउए । “आयोजना बनेपछि तीन करोड जनता खुसी हुन्छन्”– उनले भने, “तीन करोड जनता खुसी हुने नाउँमा ५० हजार प्रभावितलाई बेवास्ता नगरौँ ।” रासस