काठमाडौं १९, कात्तिक । काठमाडौं उपत्यका र वरपरका पुरातात्विक सम्पदा पुनःनिर्माणमा दातृ निकायमार्फत सहयोगको प्रतिवद्धता एक पछि अर्को गर्दै बढिरहेको छ । नेपाल सरकारले विदेशी दातृ निकायलाई २०७२ बैशाखको भूकम्पले ध्वस्त बनाएका संरचना पुनः निर्माणमा आग्रह गरेपछि विदेशी दातृ निकायको ओइरो नै लागेको छ ।
विभिन्न विदेशी दातृ निकायले बनाइदिने नेपालले ऐतिहासिक—पुरातात्विक सम्पदामध्ये विश्व सम्पदा सूचीमा सूचिकृत विभिन्न १० स्थानको भने नेपाल सरकारसँग सम्झौता नै भइसकेको पुरातत्व विभागका उपसचिव तथा विश्व सम्पदा संरक्षण विभाग प्रमुख सुरेस सुरस श्रेष्ठले बताए ।
विश्व सम्पदा सूचीमा सूचीकृति विभिन्न क्षेत्र मध्ये काठमाडौं उपत्यका पहिलो प्राथमिकतामा राखेर पुनः निर्माण हुने पनि उनले बताए ।
उनका अनुसार सम्वन्धित निर्माण क्षेत्रको विश्व सम्पदा संघ (युनेस्को) र पुरातत्व विभागसँग सम्झौता सम्पन्न भइसकेकोले दातृ निकायले अब भटाभट पुनर्निमाणका काम सुरु गर्ने भएको छ ।
सम्झौता सम्पन्न भएका उपत्यकको पुनर्निमाण तीन वर्ष भित्रै सकिने पनि पुरातत्व विभागको भनाइ छ । विभागले पाँच वर्ष भित्रमा सबै पुरातात्विक सम्पदाको पुनः निर्माण सक्ने लक्ष्य अगाडि सारेको छ । पुरातत्व विभागका अनुसार भूकम्पपछिको पुनः निर्माणमा सरकारसँग सम्झौता भएका विभिन्न मुलुकको प्राथमिकता पनि विश्व सम्पदामा सूचिकृत क्षेत्रलाई पहिले बनाउने भन्ने नै रहेको छ ।
विभागको विश्व सम्पदा संरक्षण विभागका अनुसार चीनले हुमानढोकाको नौतले दबबार, नौतले दरबारसँगका हनुमान ढोका क्षेत्र भित्रकै चार वटा टावर बनाउने भएको छ । श्रीलंकाले रातो मछेन्द्रनाथ, बुङमति र स्वयम्भूको आनन्दकुटी महाविहार निर्माण गर्ने भएको छ ।
जापानले हनुमान ढोकाको अन्वेषण, बुङमति, खोकनाको पुनःनिर्माण गर्ने सम्झौता गरेको छ । बेलायतले उपत्यकाको पुरातत्व अनुसन्धान केन्द्र निर्माण गर्ने भएको छ ।
जापानिज संस्था मियामातोले हनुमान ढोका गद्दि बैठक बनाउने भएको छ । जर्मनीले भक्तपुर उपमहानागर पालिकाका पुरातत्विक स्मारक बनाउने विषयमा औपचारिक रूपमा नै सहमति गरिसकेको छ ।
औपचारिक रूपमा दुइपक्षिय सम्झौता भएका विभिन्न १० स्थानबाहेक अन्यको पनि विदेशी दातृ निकायबाट निर्माण गर्न सम्झौताको तयारीमा रहेका छन् । पुरातत्व विभागका अनुसार एउटै क्षेत्रसँग नाम मिल्दोजुल्दो भएपनि एउटा संरचाना एउटै दातृ निकायले पूरा गर्ने छन् । हनुमानढोकामा भने विभिन्न फरक फरक संरचना रहेकोले भूकम्प अगाडिको संरचना जस्तो गरेर पुनः निर्माण हुने भएको छ ।
भूकम्प अगाडिकै जस्तो संरचाना बनाउनुपर्ने र कुनै पनि संरचना फरक ढंगबाट निर्माण गर्न नपाईने गरी पुरातत्व विभागसँग सम्झौता भएको उल्लेख छ । नेपाल सरकारसँग सम्झौता भएका बाहेक रुची देखाउने, सम्झौताको चरणमा रहेको अन्य मठमन्दिर र पुरातात्विक सम्पदा पनि रहेका छन् ।
भारतले पसुपति क्षेत्रको पुनःनिर्माणको प्रस्ताव गरेको छ । यो क्षेत्रको जिम्मा भारतलाई दिने भनेपनि सम्झौता भने हुन बाँकी रहेको विभागको भनाइ छ । यी बाहेक थुप्रै मठमन्दिर र गुम्बामा पनि दातृ निकायको सहयोगको प्रतिवद्धता आएको विभागको भनाइ छ ।