काठमाडौं, ११ कात्तिक । बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६० दशमलव ६२ प्रतिशत कर्जा घर जग्गाको धितोमा रहेको छ । चालू आर्थिक वर्षको दोस्रो महिनासम्म बैंक तथा वित्तीय संस्थाहरुले १७ अर्ब ३६ करोड कर्जा प्रभाव गरेका छन् । सो कर्जामध्ये १० खर्ब ५२ अर्ब घरजग्गा धितोमा रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । भदौ एकै महिनामा यस्तो धितोमा ३१ अर्बको कर्जा प्रवाह भएको हो ।
अघिल्लो महिना साउनसम्म यस्तो धितोमा कर्जा १० खर्ब २१ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले जानकारी दिए । अघिल्लो आर्थिक वर्षको भदौसम्म यस्तो कर्जा ८ खर्ब १४ अर्बमात्र थियो । गएको वर्षको भदौसम्म वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रभावित कुल कर्जामध्ये ४९ दशमलव ४ प्रतिशत घरजग्गाको घितो कर्जा रहेको छ ।
२०७३ भदौसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जामध्ये घरजग्गा क्षेत्रमा दु्ई खर्ब ६० अर्ब एक करोड कर्जा भएको छ । उक्त कर्जा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको १५ प्रतिशत हो । उपत्यकालगायत देशका अन्य स्थानमा समेत पछिल्लो समय घर घरजग्गाको कारोबार बढ्दै गएकाले घरजग्गाको कर्जा प्रवाह पनि बढेको हो । गएको वर्ष अर्थात असार मसान्तसम्म यस्तो कर्जा २ खर्ब ५० अर्ब ८७ कर्जा प्रभाव भएको थियो ।
राजधानीलगायत देशका सहर केन्द्रित विभिन्न स्थानमा भौतिक पूर्वाधार निर्माणका कार्य तिव्र गतिमा बढी रहेको छ । सुविधासम्पन्न क्षेत्रमा बसाइको आकर्षणले बढेकाले जग्गा तथा घर खरीदविक्री पनि ह्वात्तै बढेको छ । जसका कारण यस क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको कर्जा विस्तार हुँदै गएको हो । कुल कर्जाको १५ प्रतिशत कर्जा एकै क्षेत्रमा मात्र खर्च हुनु भनेको यसको विकास तथा विस्तारित रुपनै हो ।
साथै, जग्गामा गरिएको लगानीले आकर्षक प्रतिफल दिने भएकाले पनि वित्तीय संस्थाबाट कर्जा निकालेर भएपनि भूकम्पयता मानिसहरु उपत्यका लगायतका सुविधा सम्पन्न स्थानमा जग्गा किन्न तथा घर बनाउन हौसिएका छन् । जग्गाको कारोबार बढिरहेको भूमिसूधार तथा व्यवस्थापन विभागका निर्देशक सुशीलप्रसाद आचार्य बताँउछन । काठमाडौंसँग जोडिएको ललिपुर तथा भक्तपुरमा पनि जग्गा तथा घर खरीद÷विक्रीकर्ताहरू आउने क्रम बढिरहेको छ ।
अहिले बैंहरूले घरजग्गा खरीदका लागि कम दरमै ऋण दिइरहेकाले पनि कारोबार बढेको घरजग्गा एजेण्ट संघका नेपाल (रियान)का केन्द्रीय अध्यक्ष ईश्वरप्रसाद खरेल बताँउछन् । हाल बैंकहरुले साढे सातदेखि ११÷१२ प्रतिशतसम्म घरजग्गाका क्षेत्रमा ऋण प्रभाव गर्दे आएका छन् । ‘नेपालमा आफूले जम्मा गरेको पैसा सुरक्षित रूपमा राख्ने अन्य विकल्प नहुँदा पनि यसको कारोबार बढेको हो,’ उनले भने, ‘जग्गामा गरेको लगानीले उचित प्रतिफल दिन्छ भन्ने विश्वास बढेको छ ।’