काठमाडौं, ३ कात्तिक। गुणस्तरहिन खाद्य पदार्थ विक्रिवितरण गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनमोल स्विट्समा सिलबन्दी गरेको छ। दुषित मिठाई बिक्री वितरण गरिरहेको अवस्थामा भेटाएपछि टोलीले सिलबन्दी गरिएको हो।
बुधबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत मदनकुमार चापागाईंको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, उपभोक्तावादी संगठन लगायतका प्रतिनिधि सम्मिलित अनुगमन टोलीले नक्सालस्थित अनमोल स्विट्स प्रालीमा सिलबन्दी गरेको हो।

‘मिठाईमा भुसुना, पानीपुरीमा साङ्ला र बनाउने ठाउँ फोहोर देखेपछि हामीले सिलबन्दी गरेका हौं’, विभागका एक अधिकृतले भने, ‘हामीले पुरै पसल नै सिलबन्दी गरेका छौं ।’ कम्पनीलाई खाद्य ऐन अनुसार कारबाहीका लागि मुद्दा चलाइने उनले जानकारी दिए।
तिहार नजिकिदै गर्दा सरकारले दैनिक रुपमा मिठाई पसलमा विशेष अनुगमन गरिरहेको छ। मंगलबार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले पनि बाग्मती, आगन जस्ता चर्चित ब्राण्डका मिठाई पसलमा अनुगमन गरेको थियो ।