काठमाडौं, १ कात्तिक । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । सो दिन नेप्से परिसूचक १० दशमलब ३८ अंकले घटेर १७९३ दशमलब ३६ अंकमा झरेको छ । आइतबार परिसुचक १६ अंकले घटेको थियो । सोमबार ११६ कम्पनीको ७ लाख ८३ हजार कित्ता सेयर ६३ करोड ६७ लाख रुपैयाँमा कारोबार भएको छ ।
सो दिन हाइड्रोपावर र अन्य समूह बाहेक बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ६२ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल र बैंकिङ् समूहको परिसूचक दोहोरो अंकले ओरालो लागेका छन् भने बाकी समूहको परिसूचक सामान्य अंकले घटेका छन् । हाइड्रोपावर र अन्य समूहको परिसूचक क्रमशः १७ र शून्य दशमलब ११ अंकले उकालो लागेका छन् ।
बजारमा सबैभन्दा बढी किसान माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले करिब ६ प्रतिशत गुमाएका छन् । ३ प्रतिशत गुमाउनेमा अन्य चार कम्पनीका लगानीकर्ताहरु रहेका छन् ।
सो दिन सबैभन्दा बढी कामना विकास बैंकले करिब ६ प्रतिशत कमाएको छ । मितेरी विकास बैंक, अपी पावर कम्पनी, ज्योति विकास बैंक लगायत अन्य दुई कम्पनीको सेयर मूल्य २ प्रतिशत भन्दा बढीले बढेको छ ।
कुमारी बैंकको सबैभन्दा बढी ७ करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । प्रभु इन्स्योरेन्स र बैंक अफ काठमाडौं लुम्बिनीको ५ करोड बढी रुपैयाँको सेयर किनबेच भएको हो ।