काठमाडौं, ३० असोज । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले धुलिखेलस्थित क्षेत्रीय स्तरको अरनिको डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति (एक्वाएर) गर्ने भएको छ । यस विषयमा दुई बैंकबीच आइतबार सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर भएको छ । सेन्चुरी बैंकले प्राप्ति सम्बन्धि कार्य २०७३ माघ महिनाभित्र सम्पन्न गरी एकिकृत कारोबार गर्ने लक्ष्य लिएको जनाएको छ ।

हाल सेञ्चुरी बैंककोे चुक्ता पूँजी २ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । यस बैंकले ८५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरिसकेको छ । यसअघि सेञ्चुरी बैंकले २९ करोड ०५ करोड चुक्तापूँजी रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्झौता हस्ताक्षर गरिसकेको छ ।
दुबै संस्था (सेञ्चुरी बैंक लि. तथा अरनिको डेभलपमेन्ट बैंक लि.) को गत आ.व. को मुनाफा आफ्नै पूँजीमा बाडेर समाहित हुने हुँदा एकिकृत कारोबार पश्चात् सेञ्चुरी बैंकको पूँजी ५ अर्ब भन्दा माथि पुग्ने सेन्चुरी बैंकले जनाएको छ । त्यसैगरी इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्तिपछि सेञ्चुरी बैंकले ५० भन्दा बढी शाखा कार्यालयहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्ने छ । प्राप्ति, हकप्रद तथा मुनाफा आर्जनबाट सेञ्चुरी बैंकले तोकिएको पूँजी पुर्याउने लक्ष्य लिएको बैंकले जनाएको छ ।