काठमाडौं, ३० असोज । नेपाल धितोपत्र बोर्डले रिलायबल डेभलपमेन्ट बैंकलाई अक्वायर प्रक्रिया र हकप्रद सेयरबारे प्रश्न गर्दै चिठ्ठी लेखेको छ । बोर्डले दशैं बिदा अघि नै चिठ्ठी लेखेर ग्लोबल आइएमई बैंकसँगको अक्वायर प्रक्रिया र पूर्व घोषित हकप्रद सेयरका बारेमा प्रश्न गरेको हो ।

‘अक्वायरमा जाने प्रक्रिया र पुर्व घोषित हकप्रद सेयरका बारेमा जानकारी गराउन दशैं अघि नै पत्र काटेका छौं, अझै जवाफ आइसकेको छैन्’, धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले विकासन्युजसँग भने ।
रिलायबल डेभलमपेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले पनि धितोपत्र बोर्डले चिठ्ठी पठाएको स्विकार गरे । ‘बोर्डले अक्वायर प्रक्रिया अघि बढेपछि पुर्व घोषित हकप्रद सेयर के हुन्छ भनेर जानकारी मागेर पत्र पठाएको छ, हामी जवाफको तयारीमा छौं ।’, रिलायबलका प्रमुख कार्यकारी अधिकृत लोहनीले विकासन्युजसँग भने ।
रिलायबल डेभलपमेन्ट बैंकले गत असार १७ गतेको १० औं बार्षिक साधारण सभाबाट एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । तर सो मात्रामा हकप्रद सेयर निष्काशन नै नगरि ग्लोबल आइएमई बैंकसँग अक्वायरमा जाने सम्झौतामा हस्ताक्षर गरिसकेको छ । हकप्रद सेयरको आसमा लगानी गरेका लगानी कर्तामाथी अन्याय भएको भन्दै धितोपत्र बोर्डले पत्र काटेको हो ।
असोज १४ गते रिलायबल डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष राधेश्याम अग्रवालले ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालसँग अक्वायर सम्झौतामा हस्ताक्षर गरेका थिए । दुवै बैंकबीच एक्विजिसन सम्बन्धी सम्पूर्ण काम कारबाही ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य र्निधारण गरिएको छ ।
राष्ट्रिय स्तरको विकास बैंकको रुपमा विगत १० वर्षदेखि कारोबार गर्दै आईरहेको रिलायबल डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ७८ करोड ८५ लाख रुपैयाँ रहेको छ । रिलायबल डेभलपमेन्ट बैंकलाई ग्लोबल आइएमई बैंकले एक्विजिसन गरेपछि बैंकको कुल चुक्ता पूँजी ८ अर्ब रुपैयाँ भन्दा बढी हुनेछ ।