काठमाडौं, २९ असोज । नेपालले आर्थिक वर्ष २०७२/७३ सालमा तीन अर्ब ५९ करोड मुल्य बराबरका जीवित पशु आयात गरेको छ । नेपालले भारत, बेलायत, जर्मनी, फ्रान्स, अमेरिका, हङकङ, मलेसिया, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड, नेदरल्याण्ड, अष्ट्रेलिया, एण्डोरा लगायतका मुलुकबाट जिवित पशु आयात गर्दै आएको छ ।
भारतबाट २ अर्ब ६६ करोेड मुल्य बराबरका ४ लाख ७९ हजार २ सय ७ वटा बाख्रा आयात भएका छन भने ५ करोड मुल्य बराबरका ८ हजार ३ सय ९३ वटा भेडा ल्याइएका छन् । तीन करोड ८७ लाख मुल्य बराबरका ७ हजार एक सय ९८ वटा जीवित भैसी नेपाल भित्रिएका छन् ।
नेपालले आयात गरेका जिवित पशुमध्ये केहि पाल्नका लागि र केहि मासुका लागि ल्याएको देखिन्छ । नेपालले भारतबाट २३ वटा घोडा किनेको छ भने ७६ लाख मुल्यका एक हजार ४ सय ७५ वटा उन्नत प्रजातिका गाई आयात गरेको छ ।
५० करोड ३९ लाख मुल्य बराबरको ८ लाख ६५ हजार वटा कुखुराको चल्ला नेपाल भित्र्याएको छ । नेपालले १८५ ग्राम भन्दा कम तौल भएका यस्ता कुखुराका चल्लाहरु अमेरिकादेखि बेलायत र थाइल्याण्डबाट आयात गरेको देखिन्छ । त्यस बाहेक फ्रान्स, जर्मनीबाट समेत कुखुराका चल्ला आयात गरिएको छ ।
त्यस्तै७७ लाख रुपैंयाँमा ८ सय ७७ वटा गधा पनि भारतबाटै आयात गरेको छ । हिमाली क्षेत्रमा भारी बोक्ने साधानका रुपमा गधाहरुको उपयोग गरिँदै आएको छ ।