काठमाडौं, १९ असोज । यो साता सेयर बजार लगातार बढिरहेको छ । बुधबार पनि नेप्से परिसूचक ८ दशमलब १० अंकले बढेर १८०६ दशमलब ६० अंकमा पुगेको छ । यो साताभरिकै उच्च अंक हो । सो दिन १३२ कम्पनीको १० लाख कित्ता सेयर ९२ करोड ८४३ लाख रुपैयाँमा किनबेच भएको छ । मंगलबारको तुलनामा आज कारोबार रकममा भने गिरावट भएको छ ।
बुधबार बजारमा बैंक अफ काठमाडौं लुम्विनीको सबैभन्दा बढी २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन बैंकको सेयर मूल्य ७८७ रुपैयाँ रहेको छ । त्यस्तै, एभरेष्ट बैंकको १० करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
सो दिन सबैभन्दा बढी कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यस्तै, सेवा विकास बैंक, कुमारी बैंक र ज्योति विकास बैंकका लागानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी सानिमा माइ हाइड्रोपावरका लागानीकर्ताले करिब ८ प्रतिशत गुमाएका छन् ।
सो दिन उत्पादनमूलक, हाइड्रोपावर र बीमा समूहको परिसूचक बाहेक अन्य बाकी समूहको परिसूचक उकालो लागेका छन् । होटल, बैंकिङ्, विकास बैंक, फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः ५८, १३, ४.८३, ४.६१ र २ अंकले बढेका छन् ।