काठमाडौं, १९ असोज । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको प्रमोटर सेयर प्रमोटरको विचमा मात्रै विक्री गर्नुपर्ने बाध्यकारी र प्रष्ट ब्यवस्था गरेको छ । यसअघि प्रमोटर सेयर प्रमोटर वाहेकलाई पनि विक्री गर्न सकिन्छ कि भन्ने अस्पष्ट ब्यवस्थाको कारण धितोपत्र वोर्ड र राष्ट्र बैंक विच सामन्जस्यता नहुने अवस्था आएपछि राष्ट्र बैंकले प्रष्ट ब्यवस्था गरेको हो ।
राष्ट्र बैंकले केही दिन अगाडि मात्रै सार्वजनिक गरेको एकिकृत निर्देशनमा प्रमोटर सेयर प्रमोटरका विचमा मात्रै कारोवार गर्न पाइने प्रष्ट ब्यवस्था गरेको छ ।
‘मृत्यु भई वा प्रचलित कानुन बमोजिम पारिवारिक अंशवन्डा भई हक हस्तान्तरण भएको बाहेक अन्य अवस्थामा संस्थापकले आफ्नै समुहका संस्थापकलाई मात्र सेयर नामसारी वा बिक्री गर्नु पर्नेछ,’ एकिकृत निर्देशनको ‘संस्थापक तथा संस्थापक समुहको सेयर नामसारी वा बिक्री सम्बन्धमा’ जारी गरिएको निर्देशनको खण्ड (ग) मा उल्लेख गरिएको छ ।
राष्ट्र बैंकका अनुसार सो ब्यवस्था बमोजिम संस्थापक समुहमा सेयर नामसारी वा बिक्री हुन नसक्ने अवस्था भएमा मात्र अन्य व्यक्ति वा संस्थालाई यस निर्देशनका अधिनमा रही सेयर नामसारी वा बिक्री गर्न सकिने छ । यसरी संस्थापक समुहको सेयर नामसारी वा खरिद गरी लिने व्यक्ति वा संस्था संस्थापक समुहमा नै समावेश हुनेछन् ।
बैंक तथा वित्तीय संस्थाले आफ्ना सेयरधनीको सेयर खरिद/बिक्री वा नामसारी गर्नुपुर्व राष्ट्र बैंकको स्वीकृति लिनु पर्नेछ । स्वीकृतिको लागि सञ्चालक समितिको सिफारिस सहित यस बैंकमा आवेदन गर्नुपर्नेछ ।
यस्तै संस्थापक संस्थापक बीचमा सेयर खरिद/बिक्री भएमा प्रचलित कानुनको रित पु¥याई खरिद/बिक्री गरी सो को जानकारी १५ दिनभित्र यस बैंकलाई दिनु पर्नेछ । तर, चुक्ता पुँजीको दुई (२) प्रतिशतभन्दा बढी हुनेगरी संस्थापक सेयर खरिद गर्न चाहेमा संस्थापक संस्थापक बीचमा सेयर खरिद÷बिक्री गर्न वा हकप्रद शेयरको हक हस्तान्तरण गर्न राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ ।
तर कर्जा सुचना केन्द्रको कालोसूचीमा परी सो सूचीबाट फुकुवा भएको मितिले कम्तीमा तीन वर्ष नपुगेको, सम्बन्धित बैंक तथा वित्तीय संस्थाको आन्तरिक वा बाह्य लेखापरिक्षकमा नियुक्त रहेको, सम्बन्धित बैंक तथा वित्तीय संस्थाको कानुनी वा अन्य सल्लाहकार पदमा बहाल भएको, सम्बन्धित बैंक तथा वित्तीय संस्थासँग कुनै किसिमको ठेक्का पट्टामा हिस्सेदार रहेको, प्रचलित कानुन बमोजिम कर चुक्ता नगरेको वा स्थायी करदाता लेखा नम्बर नियमित नगरेको, कुनै बैंक वित्तीय संस्थाको काम कारवाहीमा बेइमानी वा बदनियत गरेको कुरा अदालतबाट प्रमाणित भएको, धितोपत्र दलाल वा बजार निर्माता, सहकारी संस्था, सम्बन्धित बैंक वित्तीय संस्थाबाट कर्जा लिएको वा वित्तीय स्वार्थ रहेको जस्ता ब्यक्ति र संस्थालाई प्रमोटर सेयर विक्री गर्न भने प्रतिबन्द लगाइएको छ ।
यस्तै चुक्ता पुँजीको पन्ध्र प्रतिशत भन्दा कम सेयर लिएको सेयरधनीले थप सेयर नामसारी वा खरिद गरी लिँदा निजको स्वामित्वमा उक्त संस्थाको चुक्ता पुँजीको पन्ध्र प्रतिशत भन्दा बढी सेयर स्वामित्व हुने अवस्था भएको, वा फर्म, कम्पनीको हकमा विगत २ वर्षदेखि सञ्चित मुनाफामा सञ्चालनमा नरहेको जस्ता कैफियत भएकालाई पनि प्रमोटर सेयर विक्री गर्न पाइने छैन ।