काठमाडौं, १७ असोज । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएर सेयर बजार कारोबार गरिरहेका कम्पनीले तोकिएको समयमा वार्षिक सूचीकरण नवीकरण शुल्क नबुझाए कारबाहीमा पर्ने भएका छन्। नेप्सेका अनुसार असोज मशान्तभित्र सबै कम्पनीले तोकिएको वार्षिक शुल्क बुझाइ सक्नुपर्ने भए पनि हालसम्म एकसय २४ कम्पनीले ७६ लाख रुपैयाँ शुल्क बुझाएपनि बाँकी १०० कम्पनीले नवीकरण शुल्क बुझाएका छैनन् ।
कम्पनीका वरिष्ठ अधिकृत मुराहरि पराजुलीले भने–“ तोकिएको समयमा नवीकरण शुल्क नबुझाउने कम्पनीलाई नेप्सेले कानुनअनुसार कडा कारबाही गर्छ ।” नेप्सेमा समावेश भएका कम्पनीको सेयर/डिवेन्चर सूचीकृत भई वित्तीय मध्यस्तकर्तामार्फत कारोबार हुँदै आएका कम्पनीले धितोपत्र कारोबार नियमावली, २०५० को अनुसूची–९ बमोजिम वार्षिक शुल्क बुझाउनुपर्ने व्यवस्था छ ।
नियमअनुसार एक करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीले १५ हजार रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्छ ।त्यसैगरी एक करोड रुपैयाँदेखि पाँच करोडसम्म चुक्ता पुँजी भएका कम्पनीले २५ हजार रुपैयाँ, पाँच करोडदेखि १० करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीले ३५ हजार रुपैयाँ र १० करोड रुपैयाँ देखिमाथि चुक्ता पुँजी भएका कम्पनीले ५० हजार रुपैयाँ वार्षिक नवीकरण शुल्क तिर्नुपर्छ ।