काठमाडौं १७, असोज । दशैं विदाका लागि आम उपभोक्ताले राजधानी छोड्दै गरेका बेला दैनिक उपभोग्य बस्तुको माग घटेको छ ।
विद्यार्थी, शिक्षक तथा मजदुरी गर्नेहरुले धमाधन राजधानी छाडेसँगै उपभोग्य वस्तुको व्यापार घटेको थोक तथा खुद्रा व्यवसायीहरुले बताउँछन् ।

तर, माग घटे पनि सर्वसाधारणले सबैभन्दा बढी उपभोग गर्ने हरियो तरकारीको मूल्य भने दिनहुँ बढिरहेको समाचार सोमबारको कारोबारमा छापिएको छ।
राजधानी बाहिरबाट फर्किने सवारी साधनले सस्तो दरमा ढुवान गर्ने बेलामा समेत तरकारीको मूल्य बढ्नुलाई धेरैले अस्वभाविधक रुपमा लिएका छन्।
कीर्तिपुरको एक पसलमा आइतबार बिहान रायोको साग किन्दै गरेकी सर्लाहीकी लीला तामाङ बजार मूल्य दिनहुँ बढेको देखेर हैरान भएको बताइन्। तरकारीको भाउ छोइनसक्ने गरी बढेको उनले बताइन्।