काठमाडौं ११, असोज । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम अलपत्र अवस्थामै नै पुगेको छ । स्पेनिश कम्पनी सान्जोसे कन्ट्रक्टोराले तीन वर्षमा जम्मा १६ प्रतिशत मात्रै प्रगति गरेको र पुनः उसैलाई काम गर्न नदिने सरकारी अभिव्यक्तिपछि विमानस्थलको कामले गति लिएको छैन ।
नेपालको पहिलो र एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारमा सरकारी वेवास्थाकै कारण विस्तारको काम पछाडि धकेलिदै गएको हो । सन् १९५० देखि उडान सुरु भएको विमानस्थल सन् २०१६ सम्मपनि सरकारले जिम्मेवार भएर विमानस्थलको विस्तार कार्य गरेको छैन ।
नियमति रुपमा काम भए र एसीयाली विकास बैंकले तयार पारेको योजना अनुसार काम गर्न सके त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न अझै १५ वर्ष लाग्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले एसियाली विकास बैंक (एडीबी)को सहयोगमा सन् २०१६ सम्ममा विमानस्थलको क्षमता बृद्धि गर्ने र सन् २०२८ सम्ममा गुरु योजना पूरा गर्ने उल्लेख थियो । ‘यो काम अहिले न अगाडि बढेको छ न रोकिएको छ’, नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजनाको भनाइ छ ।
नियमति रूपमा काम भए पनि अन्तराष्ट्रिय मापदण्ड पूरा गर्न कम्तीमा १५ वर्ष लाग्ने प्राधिकरणको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अन्तराष्ट्रिय नागरिक उड्डयन सङ्घठन (आइकाओ)को एनेक्स १४ अनुसार रनवे, ट्याक्सीवे, रनवे सेफ्टी एरिया, आपतकालिन जहाज पार्किङ, टर्मिनल भवन, जहाजको ह्याङ्गर, लगायका मापदण्ड पूरा गर्न सकेको छैन् । सरकारी वेवास्थाका कारण र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने की नबनाउने भन्ने विषयको टुङ्गो नलाग्दा पनि त्रिभुवन विमानस्थल विस्तार अलपत्र परेको हो ।
‘सन् २०१६ सम्ममा अहिले पूरा धावनमार्गको लम्वाई, ट्याक्सीवे लगायतका दुई÷तीन ओटा अन्तर्राष्ट्रिय मापदण्ड पूरा हुने योजना भएपनि काम रोकिएकोले विमानस्थल कार्यालयको भनाइ छ,’ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघठन (आइकाओ)ले तोकेको सबै मापदण्ड पूरा गर्नको निम्ति गुरुयोजना नै पूरा हुनुपर्ने भएपनि सो अनुसार काम नभएको विमानस्थल विस्तार आयोजना प्रमुख बाबुराम पौडेलले बताएका छन ।
यो विमानस्थलमा १९५० देखि उडान तथा अवतरण सुरु भएको थियो ।
१९६४ देखि औपचारीक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नामाकरण गरिएको यो विमानस्थलले अहिलेसम्म अन्तर्राष्ट्रिय मापदण्ड भने पूरा गर्न सकेको छैन् । वार्षिक एक अर्व रुपैयाँ खर्च भइरहेको यो विमानस्थले नियमित रुपमा योजना अनुसारको काम हुन नसकेको कारण सन् २०२८ सम्ममा आइकाओले तोकेको मापदण्ड पूरा गर्ने लक्ष्य नै अन्योलमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको बुझाइ छ ।
एडीवीको ८ करोड अमेरीकी डलर सहयोगमा र नेपाल नागरिक उड्डयन प्राधिकरणको १ करोड २० लाख डलर खर्चमा यो विमानस्थलको क्षमता विस्तारको काम भइरहेको छ । यस रकम मध्ये एडीवीले ७ करोड डलर ऋण र १ करोड डलर अनुदानमा प्रदान गरेको हो ।
तीन वर्षे योजना अन्र्तगत विमानस्थलको क्षमता विस्तरमा ९ करोड २० लाख डलर अनुमान गरिएकोले १ करोड २० लाख डलर प्राधिकरणले आन्तरिक स्रोतबाट खर्च गर्ने उल्लेख थियो । ‘तर, विमानस्थल विस्तारको काममा न पैसा खर्च भयो न भौतिक प्रगित नै भएको छ,’ प्राधिकरणका प्रवक्ता देवेन्द्र केसीले भने ।
विमानस्थल विस्तार योजना अन्तर्गत विमानस्थलको धावनमार्ग ३ सय मिटर बढाउने कार्यक्रम छ । यो धावनमार्ग अहिले ३ हजार मिटरको छ । हवाई यात्रु प्रतिक्षालय, आन्तरिकतर्फ जहाज ४२ र अन्तर्राष्ट्रियमा नौ वटा जहाज पार्किङ क्षमता बढ्ने भएको छ । विमानस्थलमा हाल अन्तराष्ट्रियतर्फ दुईओटा वाइड वडि र सातओटा न्यारोवडि गरी जम्मा ९ ओटा मात्र जहाज पार्किङ गर्न सकिन्छ ।
यसलाई बढाएर ९ ओटा ठूलो वा १८ ओटा सानो (न्यारोवडि) जहाज पार्किङ गर्न सक्ने क्षमताको बनाउने कामलाई तीव्रताका साथ अगाडि बढाउन सकिएको भए गतएका तीन वर्षको कामले अहिले नतिजा दिने थियो । नाकाबन्दी, भूकम्प, नेपालको राजनीतिक वातावरणसहितका कारण देखाएर ठेकेदारले काम नै गरेको र उल्टै नेपाल सरकारसँग २ अर्ब क्षतिपूर्ति माग गरेको पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायको भनाइ छ ।
विमानस्थलमा अवतरण गरेपश्चात अन्तरराष्ट्रिय उडानका जहाजलाई पुनः उडान गर्न कम्तिमा १ घण्टा लाग्छ, कुनै कारणले सो भन्दा बढीको समय लागेको खण्डमा एयर ट्राफिक व्यवस्थापन मिलाउन नै गाह्रो पर्ने भएकोले पनि पार्किङ क्षमता बढाउन आवश्यक भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
सरकारले विमानस्थलको कामलाई प्राथमिकता राख्न नसकेका कारण विस्तार छिटो नहुने आवश्यक खर्च गर्न पुग्ने रकम नहुने तथा ठेकेदारसहितका अन्य निकायको कमजोरी सच्चिन नसकेको पनि उल्लेख छ ।