काठमाडौं १०, भदौ । यसपालि दसैंमा ८ अर्ब रुपैयाँका विभिन्न दरका नयाँ नोट चल्तीमा आउँदै छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, सरकारी कार्यालय, सैनिक, प्रहरी र सहकारी संस्थामार्फत उक्त रकमबराबरका नयाँ नोट वितरण गर्ने तयारी गरेको समाचार सोमबारको नागरिक दैनिकले छापेको छ।
राष्ट्र बैंकले काठमाडौं उपत्याकाभित्र मात्र वाणिज्य बैंकमार्फत करिब डेढ अर्ब, विकास बैंकमार्फत २० करोड र फाइनान्स कम्पनी मार्फत ७ करोड रुपैयाँका विभिन्न दरका नयाँ नोट वितरण गर्दै छ । यसैगरी केन्द्रीय बैंकले उपत्यकाबाहिर ७ क्षेत्रीय कार्यालयबाट पनि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ ।

सरकारी कार्यालय, सैनिक, प्रहरी, सहकारी कार्यालयसमेत गरी कुल ८ अर्ब रुपैयाँ बराबरका नयाँ नोट वितरण गर्ने योजना रहेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख भुवन कँडेलले बताए ।
केन्द्रीय बैंकले निजी बैंक तथा वित्तीय संस्थाका लागि आइतबारबाट नयाँ नोट वितरण सुरु गरेको छ । सर्वसाधारणका लागि भने आगामी आइतबारबाट सुरु गर्ने छ ।
आइतबार ७ वाणिज्य बैंकले नयाँ नोट लगेको पनि कँडेलले जानकारी दिए । सोमबार र मंगलबार पनि बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट केन्द्रीय बैंकले वितरण गर्दै छ ।
‘राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकलगायतका ठूलालाई प्रति बैंक ९ करोड रुपैयाँसम्मका नयाँ नोट दिएका छौं,’ कँडेलले भने, ‘बैंक तथा वित्तीय संस्थाले चेक लिएर आउने र सोही चेक बराबरको नयाँ नोट दिने गरेका छौं ।’
काठमाडौंमा मात्र वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीलाई मात्र पौने २ अर्बका नयाँ नोट दिने योजना केन्द्रीय बैंकले बनाएको छ । यसैगरी मुद्रा व्यवस्थापन विभाग थापाथलीबाट काठमाडौं उपत्यकामा सर्वसाधारणका लागि प्रतिव्यक्ति ३७ हजार पाउने गरी नयाँ नोट वितरण गर्न लागेको कँडेलले बताए ।
‘प्रतिदिन ४ हजारजनाले नोट साटने अनुमान गरिएको छ,’ उनले भने, ‘काठमाडौंमा मात्र सर्वसाधारणले १ अर्ब रुपैयाँ नयाँ नोट साटने अनुमान छ ।’ काठमाडौं उपत्यकाबाहिरका बैंक तथा वित्तीय संस्था, राष्ट्र बैंकका क्षेत्रीय कार्यालयबाट पनि नयाँ नोट साट्ने व्यवस्था मिलाइएको जानकारी उनले दिए।
‘एक व्यक्तिले ५, १०, २०, ५० र सय दरका नयाँ नोट ३७ हजार रुपैयाँसम्म साट्न पाउने गरी वितरण व्यवस्था मिलाउन लागिएको छ,’ उनले भने, ‘सेना, प्रहरी, निजामती कर्मचारी, राष्ट्र बैंकका कर्मचारीले भने विभागबाट सामूहिक सिफारिससहित आएर प्रतिव्यक्ति ५५ हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाउनेछन् ।’
गत वर्ष सर्वसाधारणलाई प्रतिव्यक्ति बढीमा २२ हजार रुपैयाँसम्म नयाँ नोट साट्न दिइएको थियो । गत वर्ष दसैंका बेला ५ अर्ब ६९ करोड रुपैयाँ नयाँ नोट वितरण गरिएकोमा यस वर्ष करिब ८ अर्ब रुपैयाँ बराबरका साटिने राष्ट्र बैंकले अनुमान गरेको छ ।
‘उपत्यकाबाहिर भने प्रतिव्यक्ति कति रुपैयाँसम्म साट्ने भन्ने कुरा सम्बन्धित कार्यालयले नै निर्णय गर्नेछन्,’ कँडेलले भने । उनका अनुसार दसैंका लागि नयाँ नोट साट्ने व्यक्तिको भिडलाई ध्यान दिँदै यस वर्ष केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले कुपन व्यवस्था मिलाउने भएको छ । कुपन नम्बर अनुसार वितरण हुने भएकाले सर्वसाधारणले सहज रुपमा नयाँ नोट साट्न पाउनेछन् ।