सोलार प्लाण्ट राख्न पाँच वटा बैंकले ऋण दिने, ७५ प्रतिशत व्याज र २० हजार रुपैयाँ अनुदान पाईने

<p>काठमाडाैं, ९ असाेज । लोडसेडिङको मारले वाक्क हुनुभएको छ भने अब ढुक्क हुुनुहोस् । तपाई यो समस्या हल गर्न सरकार र बैंकले मद्दत गर्दैछन् । घर तथा व्यवसायमा तपाई सौर्य ऊर्जा जडान गर्नको अब बैंकहरुले ९० प्रतिशतसम्म ऋण उपलब्ध गराउने भएका छन् भने सरकारले शुरुमा २० हजार नगद र बैंकमा लाग्ने व्याजमा ७५ प्रतिशत अनुदान [&hellip;]</p>

काठमाडाैं, ९ असाेज । लोडसेडिङको मारले वाक्क हुनुभएको छ भने अब ढुक्क हुुनुहोस् । तपाई यो समस्या हल गर्न सरकार र बैंकले मद्दत गर्दैछन् । घर तथा व्यवसायमा तपाई सौर्य ऊर्जा जडान गर्नको अब बैंकहरुले ९० प्रतिशतसम्म ऋण उपलब्ध गराउने भएका छन् भने सरकारले शुरुमा २० हजार नगद र बैंकमा लाग्ने व्याजमा ७५ प्रतिशत अनुदान दिने भएको छ ।

भदाैकाे अन्तिम साता वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नेपाल इन्भेष्टमेण्ट बैंक, एनएमबी बैंक सिद्धार्थ बैंक, हिमालय बैंक र सिभिल बैंकसँग कर्जाका लागि सम्झौता गरेकाे छ । यी बैंकहरुले आयस्रोतलाई मुख्य आधार बनाएर विनाधितो आवश्यक रकमको ९० प्रतिशतसम्म ३ साताभित्र कर्जा उपलब्ध गराउने सम्झौता भएको बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, शहरी सौर्य ऊर्जा कार्यक्रमका प्रमुख अविनाश वरुणले बताए ।

solar_panels_home
सरकारले ल्याएको यो कार्यक्रम यस वर्ष लोकप्रिय बन्ने र लोडसेडिङबाट वाक्क भएका जनतालाई राहत मिल्ने उनको भनाइ छ । ‘कर्जा लिन घरायसी प्रयोजनका लागि कम्तीमा ५ सय वाट क्षमताको सोलार जडान गर्नुपर्छ भने व्यावसायिक प्रयोजनका लागि १५ सय वाट क्षमताको सोलार जडान गर्नुपर्छ,’ उनले भने ‘सोलार जडान गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि, लालपुर्जाको प्रतिलिपि, बिजुलीको बिल तिरेको रसिद र आयस्रोत खुल्ने कागज पत्र पेश गर्नुपर्छ ।

२ सय वाट के के गर्न सक्छौं ?
२ सय वाट क्षमताको सौर्य प्लाण्टबाट कम्तीमा एउटा टीभी ५ घण्टासम्म चल्न सक्छ । १० ओटा बत्ती ७ घण्टा, एउटा ल्यापटप ३ घण्टा र एउटा राउटर ८ घण्टासम्म चलाउन पुग्ने क्षमता हुन्छ । २ सय वाट क्षमताको सोलार प्रणालीका लागि कम्पनीअनुसार ५० हजारदेखि ७५ हजार रुपैयाँसम्म पर्छ । यसरी जडान गरे २० हजार अनुदान पाउँदा ५५ हजार रुपैयाँमा यी सबै सुविधा लिन सकिने केन्द्रको हिसाव छ ।

सरकारले चालू आर्थिक वर्ष २०७३/७४ बाट शहरी सौर्य ऊर्जा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सोलार जडान खर्च २० हजार र कर्जा सुविधा ९० प्रतिशतसम्म दिने घोषणा गरेको छ । अघिल्लो आर्थिक वर्षमा १० हजार सौर्य ऊर्जा जडान गर्ने लक्ष्य राखे पनि बजेट अभावका कारण १३ सय मात्रै वितरण गरेको वैकल्पिक ऊर्जाका वरुणले जानकारी दिए ।

अघिल्लो आवको भन्दा यस आव कार्यक्रममा धेरै व्यावहारिक पक्ष समेटिएकाले २५ सय सोलार वितरण गर्ने पनि उनले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा १५ हजार अनुदान पाउन ५ सय वाट क्षमताको सोलारका लागि २ लाख रुपैयाँभन्दा बढी खर्चनु पथ्र्याे । यस वर्ष २ सय वाट क्षमताको सोलारका लागि ५० हजारदेखि ७५ हजारसम्म खर्च गर्दा २० हजार अनुदान पाउने व्यवस्था गरिएको छ ।

सरकारले विद्युत् सेवा पुगेका ठाउँमा सौर्य ऊर्जाको प्रयोगलाई प्रोत्साहन गरी लोडशेडिङ घटाउन सहयोग पुर्याउने उद्देश्यले सञ्चालनमा ल्याएको हो । यसमा सौर्य ऊर्जा जडान गर्दा लाग्ने खर्चमा २० हजार अनुदान दिने र कुल खर्चको ९० प्रतिशतसम्म कर्जा सापटी तथा ब्याजमा समेत ७५ प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरिएको छ । घरायसी प्रयोजनका लागि ७५ प्रतिशत ब्याज तथा व्यावसायिक प्रयोजनमा ५० प्रतिशत ब्याज अनुदान पाइन्छ ।

शहरी सौर्य ऊर्जा कार्यक्रमबाट अनुदान पाउन ग्राहकले कम्तीमा २ सय वाट क्षमताको सोलार जडान गर्नुपर्छ । पहिले ५ सय वाट क्षमताको सोलार जडान गर्दा मात्र अनुदान पाइन्थ्यो । कर्जा लिन भने कम्तीमा ५ सय वाट क्षमताको सोलार जडान गर्नुपर्छ । व्यावसायिक प्रयोजनका लागि हो भने १ हजार ५ सय वाट क्षमताको सोलारमा मात्रै कर्जा सुविधा दिने कार्यक्रम रहेको छ । उनका अनुसार पहिले १ सय वाट क्षमताको सोलार जडान गर्दा पनि अनुदान पाइन्थ्यो । त्यो प्रक्रिया झन्झटिलो भएकाले अहिले २ सय वाट क्षमताका लागि अनुदान दिइए पनि कर्जा भने ५ सय वाटभन्दा बढी क्षमताका लागि मात्रै दिने गरेको बताए ।

आम उपभोक्ता नठगिउन भी वैकल्पिक ऊर्जाकै परीक्षण विभाग (रेटस)ले परीक्षण गरी पास भएका सामग्री मात्र व्यवसायीले विक्री गरी ग्राहकले पाउने अनुदानका लागि सिफारिश गरिने भएको छ । ग्राहकले सरकारले तोकेका करीब ४ सय सोलार कम्पनीमध्ये जुनबाट सोलार उपकरण किने पनि उनीहरूले दिएको फर्म भरेर वैकल्पिक ऊर्जामा पठाउनुपर्छ । त्यसपछि मात्र अनुदान दिइने व्यवस्था छ ।
यसका लागि खरीदकर्ता भने शहरी सौर्य ऊर्जा कार्यक्रम लागू भएको ठाउँ अर्थात् विद्युत् लाइन जडान गरेको व्यक्ति वा फर्म हुनैपर्छ ।

 

Share News