काठमाडौं, ९ असोज । नेपाल वायुसेवा निगमले २ ओटा वाइड बढी जहाज थप गर्ने निर्णय गरेको छ । शनिवार बसेको निगम संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो ।
जहाज खरिदको अावश्यक ऋणाकाे लागिपर्यटनमन्त्री स्तरीय बैठकले सरकार ग्यारेन्टी बस्ने निर्णय गरेपछि जहाज खरिदको प्रक्रिया अगाडि बढेको निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए ।
‘शनिवारको संचालक समितिले एयरबसको २ ओटा वाइड बढी खरिद गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ, भोलिसम्ममा ग्लोबल टेण्डर प्रकाशित गर्ने र आजको ठ्याक्कै १ बर्षभित्रमा जहाज यहाँ ल्याइसक्ने गरी प्रक्रिया अगाडि बढाएका छौं,’ प्रबन्ध निर्देशक कंसाकारले भने ।
२ ओटा वाइड बढी एयरबस जहाज खरिद गर्नको लागि करिब २५ अर्ब रुपैयाँ लाग्ने अनुमान निगमले गरेको छ । यसको लागि सरकार ग्यारेन्टी बस्ने र नागरिक लगानी कोष तथा कर्मचारी संचय कोषले ऋण दिने गरी प्रक्रिया अगाडि बढेको हो ।
‘दुबै कोषले चाहिने जति रकम एक्लै पनि दिने प्रस्ताव गरेका छन्, आधा आधा गरेर लिने वा कुनै एक कोषसँग मात्रै लिने भन्ने तय भएको छैन, अब चाढै टुंगिन्छ,’ कंसाकारले भने ।
वाइड बढी जहाजमा २५० देखि २७० सिट क्षमता हुन्छ ।
थप आउने जहाज अहिले निगमको अन्तराष्ट्रिय रुटमा पनि चलाउन र थप ३ देशमा उडान भर्ने गरी प्रक्रिया अगाडि बढेको कंसाकारको भनाइ छ । निमगले दक्षिण कोरिया, जापान र साउदी अरेवियामा उडान थप गर्ने गृहकार्य पनि सुरु गरिसकेको छ ।