काठमाडौं, ७ असोज । सेवा सुविधा वृद्धि गर्न माग गर्दै केही समयदेखि आन्दोलनमा रहेका इन्जिनियरहरु आन्दोलन स्थगित गरी काममा फर्कने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिरकण, सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाई र इन्जिनियरका प्रतिनिधिहरुबीच आज भएको वार्तापछि सो सहमति भएको हो ।
वार्तामा प्राधिकरणका सहसचिवद्वय कालीप्रसाद पराजुली, जनार्दन गुरागाईँ र केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख शिवहरी शर्माले सहरी विकास मन्त्रालयले पनि छुट्टै प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको र प्राधिकरणले पनि सेवा सुविधा वृद्धि गरी प्राविधिक जनशक्तिलाई कार्यमा उत्प्रेति गर्न अर्थ मन्त्रालयमा प्रस्ताव सहित सहमतिका लागि पठाएको जानकारी इन्जिनियर्स एशोसियसनका अध्यक्ष ध्रुवराज थापा सहितको टोलीमा सहभागी भएकाहरुलाई जानकारी गराएका थिए ।
वार्तामा सेवा सुविधा वृद्धि गर्ने सम्बन्धमा उपलब्ध स्रोत साधनको सिमिततालाई ध्यानमा राखी आ–आफ्नो क्षेत्रबाट सबैले गर्ने र इन्जिनियरहरु पनि आजैको मितिदेखि आन्दोलन स्थगित गरी काममा आ–आफ्नो कार्य क्षेत्रमा फर्कने निर्णय भएको हो ।
भूकम्पपछिको पुनर्निर्माणका लागि सहरी विकास मन्त्रालयमार्फत करारमा कार्यरत करिव २८ सय इन्जिनियरहरुले आफूहरुको सेवा सुविधा वृद्धि गर्नुपर्ने लगायतमा मागहरु राखी आन्दोलन गरेका थिए ।
सरकारले उपलब्ध गराउने अनुदान रकमको पहिलो किस्ता भूकम्प पीडित घरधनीहरुले प्राप्त गरिसकेको र इन्जिनियरहरु पनि कार्य क्षेत्रमा खटिकाले अनुदान प्रकृयामा सहभागी भई अनुदान प्राप्त गर्नु भएका सबै घरधनीहरुलाई प्राविधिकहरुको परामर्शमा प्राप्त अनुदानको सदुपयोग गर्न, भूकम्प प्रतिरोधी घर बनाउन र यसमा पु¥याउनका लागि सबैको सहयोगको अपेक्षा गरिएको प्राधिकरणाले जनाएकाे छ ।