काठमाडौं, ७ असोज । नेपाली पासपोर्ट बाहकले विश्वका विभिन्न देशमा पाउने अनअराइभल भिसा सुविधालाई आधार बनाएर नेपालमा अमेरिकी डलरको दुरुपयोग हुने गरेको तथ्य खुलेको छ ।
अनअराइभल भिसा पाउने देशहरुमा जान भन्दै इ-टिकेट पेश गरेर बैंकहरुवाट अमेरिकी डलर लिने र पछि फ्लाइट क्यान्सिल भएको भन्दै ती देशमा नगइ अमेरिकी डलर अनौपचारिक बजारमा विक्री गर्ने गरिएको छ । यस्तो क्रम पछिल्लो समयमा बढेको राष्ट्र बैंकको भनाइ छ ।
‘अनअराइभल भिसा पाउने देशहरुमा जानको लागि पासपोर्टमा भिसा लागेको हुने भएन, नक्कली इ-टिकेट बनाएर पेश गर्ने र पछि फ्लाइट क्यान्सिल भएको भन्दै त्यस्ता देशमा नजाने र डलर अनौपचारिक बजारमा विक्री गर्ने गरिएको पाइएको छ,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने ।
यस्तो कार्यमा केही बैंकका केही कर्मचारीको समेत मिलेमतो भएको शंका राष्ट्र बैंकको छ । तर बैंकहरुले भने इ-टिकेटको आधारमा डलर दिए पनि डलर लिने ब्यक्ति सम्बन्धित देश गए नगएको अनुसन्धान गर्ने काम आफूहरुको नभएको बताएका छन् ।
विदेश जानको लागि लिएको विदेशी मुद्रा त्यस्तो देश जान नपाएको अवस्थामा वा विदेश गएर पनि खर्च हुन बाँकी रहेको विदेशी मुद्रा जुन बैंकवाट लिएको हो पछि त्यही बैंकमा फिर्ता गर्नुपर्ने नियम छ । आफूहरुले विदेशी मुद्रा लिने ब्यक्तिहरुलाई यस्तो नियमको बारेमा जानकारी दिने गरेको र पालना गरे नगरेको अनुसन्धान गर्ने काम बैंकहरुको नभएकोले यसै भन्न नसकिने एक बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।
अमेरिकी डलर दुरुपयोग गर्नेहरुले पेश गरेका इ-टिकेट समेत नक्कली भएको पाइएको राष्ट्र बैंकले जानकारी दिएको छ । नक्कली इ-टिकेट बनाउन सजिलो भएको कारण पनि यस्तो गैरकानुनी धन्दा बढेको हुन सक्ने अनुमान राष्ट्र बैंकको छ ।
यसरी विदेशी मुद्राको दुरुपयोग बढेपछि राष्ट्र बैंक र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले संयुक्त अनुसन्धान थालेका छन् ।
यस्तो कार्यमा पेशेवर र बैंकसँग प्रत्येक्ष सम्बन्ध भएका ब्यक्तिहरुको समेत संलग्नता रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ, यो अपराध पनि भएकोले सिआइबी र हामीले संयुक्त अनुसन्धान थालेका छौं
‘यस्तो कार्यमा पेशेवर र बैंकसँग प्रत्येक्ष सम्बन्ध भएका ब्यक्तिहरुको समेत संलग्नता रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ, यो अपराध पनि भएकोले सिआइबी र हामीले संयुक्त अनुसन्धान थालेका छौं,’ राष्ट्र बैंकका उच्च अधिकारीको भनाइ छ ।
कुन कुन देश जान नेपालीलाई भिसा चाहिदैन ?
नेपाली पासपोर्ट बाहकले विश्वका ३८ देशमा जानको लागि पहिला नै भिसा लगाउनु पर्दैन । अर्थात ती देशहरुले नेपालीलाई अनअराइभल भिसा दिने गरेका छन् ।
यसरी अनुअराइभल भिसा पाइने देशहरुमा एशियाका भारतसहित ११ देश छन् । भारत जानको लागि बैंकहरुले अमेरिकी डलर दिदैनन् । एशियाका अन्य देशहरुमा बंगलादेश, कम्बोडिया, माल्दिभ्स, म्यानमार, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, सिरिया, सिंगापूर र टिमोर रहेका छन् ।
यस्तै अफ्रिकाका १६ देशले पनि नेपाली पासपोर्ट वाहकलाई अनअराइभल भिसा दिने गरेका छन् । यसरी अनअराइभल भिसा पाउने अफ्रिकाका देशहरुमा बुरुन्डी, केपबर्दे, कोमोरस, जिबुअटी, इजिप्ट, केन्या, मदगास्कर, मौरिसानिया, मौरिसस, मोजाम्बिक, रुआण्डा, सेयन्चेअलस, तान्जिनिया, टोगो, युगाण्डा र जाम्बिया हुन् ।
यस्तै थप ११ देशले पनि नेपाली पासपोर्ट बाहकलाई अनअराइभल भिसा दिने गरेका छन् । यसरी अनअराइभल भिसा दिने देशहरुमा अर्मेनिया, डोमिनिका, हाइटी, बोलिभिया, सेन्ट भिन्केन्ट, कूक आइल्याण्ड, फेडेलर स्टेट अफ माइक्रोनेसिया, नुअ, पलाउ, समोया र तुभालु रहेका छन् ।