पुल र बस्ती संरक्षणमा चार करोड २५ लाख रुपैयाँ खर्च लाग्ने

<p>पोखरा, ६ असोज । कास्की जिल्लाको पोखरा उपमहानगरपालिका–१७ स्थित दोविल्लामा केही दिनयता लगातार परेको पानीका कारण फुस्रो खोलाको कटानबाट प्रभावित बस्ती र पुल संरक्षण गर्न चार करोड २५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति कास्कीले जिल्लामा बाढीका कारण भएको क्षतिबारे सरोकारवाला निकायसँग जिल्ला प्रशासन कार्यालयमा गरेको छलफलमा सडक डिभिजन [&hellip;]</p>

पोखरा, ६ असोज । कास्की जिल्लाको पोखरा उपमहानगरपालिका–१७ स्थित दोविल्लामा केही दिनयता लगातार परेको पानीका कारण फुस्रो खोलाको कटानबाट प्रभावित बस्ती र पुल संरक्षण गर्न चार करोड २५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समिति कास्कीले जिल्लामा बाढीका कारण भएको क्षतिबारे सरोकारवाला निकायसँग जिल्ला प्रशासन कार्यालयमा गरेको छलफलमा सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर नवराज बास्तोलाले उक्त जानकारी दिए ।

उनले पुल र बस्तीमा परेको क्षति सम्बन्धमा स्थलगत अवलोकन गरेको जानकारी दिँदै पुलको पूर्व किनारातर्फ २५० मिटर लम्बाइको पक्की पर्खाल र तारजाली लगाउनु आवश्यक भएको हुँदा सडक डिभिजन र पुल महाशाखामा बजेट निकासका लागि पत्राचार गरिसकिएको बताए ।

फुस्रेखोलाको लगातारको कटानले सो क्षेत्रका ४२ घरपरिवारमध्ये १५ घर उच्च जोखिममा परेको र पक्की पुलबाट मालबाहक साधन आवागमनमा समेत रोक लगाइएको छ भने सो क्षेत्रमा रहेका विभिन्न संस्थाका भौतिक संरचना जोखिममा परेका छन् ।

बाढीका कारण कास्की जिल्लाका कृषितर्फ लगभग दुई करोड छ लाख ७४ हजार रुपैयाँ क्षति भएको जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख रमेशप्रसाद कोइरालाले सो अवसरमा जानकारी दिए । उनका अनुसार जिल्लामा तरकारी, धान, माछा एवम् पशुपालनतर्फ धेरै क्षति पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक हरिप्रसाद मैनालीले विगतका तुलनामा जिल्लामा मानवीय क्षतिमा कमी आए पनि भौतिक क्षति भने धेरै भएको बताए । उनले बाढीले भत्केका बाटो तथा ढल मर्मतका लागि चाडपर्व अगाडि नै नगरपालिकाले कार्य अघि बढाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा जिल्लास्थित सिँचाइ, खानेपानी, रेडक्रस, पशुसेवा, जलउत्पन्न, भूसंरक्षणलगायत विभिन्न कार्यालय एवम् जिल्लाका राजनीतिक पार्टी प्रतिनिधिको सहभागिता रहेको थियो । रासस

Share News